१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अफगानिस्तानमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो



एजेन्सी । पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो। ‘दुर्भाग्यवश, हताहतको संख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,’ सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भने।

उनले एएफपीसँग भने, ‘मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी छ। उद्धारका धेरै प्रयास भइरहेका छन्। आइतबार प्राप्त आँकडाले हताहत हुनेको संख्या योभन्दा निकै धेरै पुग्ने अनुमान गरिएको छ।’

जिन्दा जान जिल्लाको सर्बोल्यान्ड गाउँमा शनिबार रात परेपछि एएफपीका एक संवाददाताले भूकम्पको केन्द्रविन्दुनजिकै दर्जनौँ घर भत्किएको पुष्टि गरेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हेरात प्रान्तका कम्तीमा १२ गाउँका ६ सयभन्दा बढी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

प्रत्यक्षदर्शी स्थानीय ४२ वर्षीय बसिर अहमदले भूकम्पको पहिलो झट्कामा सबै घर भत्किएका र घरभित्र रहेकाहरू पुरिएकाे बताए। उनले भने, ‘अझै धेरै हामीले कुनै खबर नसुनेका परिवारहरू छन्।’

स्थानीय नेक मोहम्मदले एएफपीसँगको कुराकानीमा स्थानीय समयअनुसार बिहान ११ बजे पहिलो भूकम्प आउँदा आफू काममा रहेको, तर भूकम्पपछि हतारहतार घर फर्किँदा त्यहाँ केही पनि बाँकी नदेखेको बताए। ‘सबै कुरा भूकम्पबाट ढलेका घरका भग्नावशेषमुनि पुरिएका थिए,’ उनले भने।

शनिबार स्थानीय र घटनास्थलवरपर उपलब्ध सुरक्षाकर्मीको सहयोगमा करिब ३० जनाको शव निकालिएको थियो। भूकम्पपछि स्थानीयले खुला आकाशमा रात बिताएको उनले बताए। मोहम्मदले भने, ‘अहिलेसम्म हामीसँग ओढ्ने कम्बल वा खानेकुरा केही पनि छैन। यहाँ हामी आफन्तहरू गुमाएको शोकमा छौँ र खाना पनि खान पाएका छैनौँ।’

डब्लुएचओले शनिबार राति क्षतिको विवरण आउने क्रम जारी रहेकाले तत्काल यति नै हताहत भएको भन्ने अनुमान गर्नु हतार हुने बताएको थियो।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि व्यापक रूपमा विदेशी सहायता फिर्ता लिएपछि अफगानिस्तान पहिलेदेखि नै गम्भीर मानवीय संकटको चपेटामा छ। करिब १९ लाख जनसंख्या रहेको हेरात प्रान्तमा इरानसँगको सीमामा पर्छ। हेरातमा वर्षौँ लामो खडेरीले धेरै कृषकलाई आर्थिक तथा मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ।

युरेसियन र भारतीय टेक्टोनिक प्लेटहरूको संगमनजिक रहेको हिन्दकुश पर्वत शृंखलामा रहेको अफगानिस्तानी भूभाग अक्सर भूकम्पको चपेटामा पर्छ।

रासस

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ४६ बजे