३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नारायणी नदीमा चल्न थाले पानी जहाज



भरतपुर
९ कात्तिक । वर्षा सकिएपछि नारायणी नदीमा पानीजहाज(मोटरबोट) सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका पानी जहाज चाडपर्वसँगै सञ्चालन भएका हुन् ।

असार, साउन र भदौ महिनामा नदीमा बाढी आउने भएकाले तीन महिना पानी जहाज बन्द हुन्छ । यस वर्ष असोज महिनामा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि दसैँको अवसर पारेर पानी जहाज सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए ।

पछिल्लो समय नारायणी नदीमा पानी जहाज चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ । यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले पानी जहाज सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित पानीजहाज सञ्चालन हुने उनको भनाइ थियो ।

बिदाका दिन पानी जहाज चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । “अहिले दैनिक दुई हजारको हाराहारीमा पानी जहाज चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्”, अध्यक्ष मल्लले भने, “दसैँ र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक यहाँ मनोरञ्जन लिन आउने गर्छन् ।” विसं २०७६ मा एउटा बाट सुरु भएको पानी जहाज अहिले सानाठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । यस वर्ष १९ वटा पानी जहाजले सेवा सुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन् ।

मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा पानी जहाज सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् ।

यस्तै साना पानी जहाजमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति रु एक हजार पाँच सयसम्म तोकिएको छ ।

त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।