१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतलाई बिजुली बेचेर प्राधिकरणले कमायो १५ अर्ब २४ करोड रुपैयाँ



२२ मंसिर । यस वर्षको वर्षायाममा नेपाल विद्युत् प्राधिकरणले १५ अर्ब २४ करोड रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष गएको जेठ २८ गतेदेखि भारतीय बजारमा बिक्री शुरु गरेको थियो ।

प्राधिकरणले यस वर्षको जेठदेखि मङ्सिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट बिजुली निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक अधिकतम ७ सय मेगावाटसम्म बिजुली निर्यात गरेको थियो । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष २०८०–८१को साउनदेखि मङ्सिरमा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट बिजुली निर्यात भएको छ । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ ।

सुक्खायाम शुरु भएसँगै खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्न शुरु भएको छ । तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट बिजुली आयात शुरु भएको छ । आज शुक्रवार रातिदेखि बिजुली निर्यात बन्द हुने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रूपमा बिजुलीको अधिकतम माग १ हजार ७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा बिजुली आयात शुरु गरिएको बताए ।

उनले चैत र वैशाखमा बिजुली आयातको परिणाम केही बढे पनि यस वर्ष आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था प्रक्षेपण गरिएको बताए ।

प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा १ अर्ब ७८ करोड ५३ लाख, साउनमा २ अर्ब १४ करोड ७६ लाख र भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको बिजुली निर्यात गरेको छ । यसैगरी असोजमा ४ अर्ब १७ करोड ७७ लाख, कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख र मङ्सिर २९ गतेसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ बिजुली निर्यात गरी आम्दानी भएको छ ।

प्राधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम झन्डै १ सय १० मेगावाट बिजुली भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको थियो । एनभीएनले त्यो बिजुली हरियाणा राज्यमा बिक्री गरेको थियो ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५ सय २२ मेगावाट मध्येबाट पहिलो चरणमा झन्डै ४४ मेगावाट बिजुली रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५ सय ४७ मेगावाट र एनभीभीएनलाई १ सय १० गरी ६ सय ५७ मेगावाट बिजुली निर्यातका लागि स्वीकृति पाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।