९ पुस । प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहने गीतकार एवं सर्जकहरूले आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको गठन गरेका छन् । चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो ।
संगठनमा साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्षमा रहेका छन् भने महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल रहेका छन् । त्यसैगरी बोर्ड अफ डिरेक्टरमा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव बैरागी, गीतकार एवं गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहेको भएको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी दिए ।
संस्थाको विधान अनुसार चार प्रमुख कार्यकारी सहित जम्मा एघार जनाको बोर्ड अफ डाइरेक्टर उल्लेख रहेको छ। जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ। त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा लोकप्रिय सञ्चारकर्मी सूर्य चन्द रहने छन् भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।
संस्थाको अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ।
गीत सृजना मार्फत सर्जकहरूले सामाजिक परिवर्तन गराउन सक्ने र जीवन दर्शनलाई प्रवाहित गर्न सक्ने भएकाले सृजना पस्कन निरन्तर प्रोत्साहन गर्ने प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत र साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै अगाडि बढ्ने संस्थाको उद्देश्य छ ।
प्रतिक्रिया