२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


बालकुमारी घटनाः पीडित पक्ष र सरकारबीच चारबुँदे सहमति(पत्रसहित)



१६ पुस । ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका ११ जना सदस्यलाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति भएको हो ।

दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्‍याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ ।

सो सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतक परिवारका तर्फबाट टेकबहादुर शाह र टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन् ।

बालकुमारीस्थित रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो ।

सरकारले आजै उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।