२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मौसममा गडबडी, वर्षाको सम्भावना



काठमाडौँ
१९ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । उक्त मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौमसविद गोविन्दकुमार झाका अनुसार आज र शनिबार मौसममा सुधार रहे पनि आगामी आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुनेछ ।

बिहीबार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा भएको थियो ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँमा शून्य दशमलव पाँच मिलिमिटर वर्षा मापन गरिएको छ ।
त्यसैगरी, डढेलधुरामा १४ दशमलव आठ, दिपायलमा १२ तथा जुम्लामा दुई दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ ।
दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।