काठमाडौँ
२० माघ । विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन । तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने अवस्था भने देशको लागि राम्रो कदापि हुन सक्दैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही घण्टा बसेर उनीहरूको क्रन्दन र रोदन हेरे र सुने पुग्छ ।
आफ्नो परिवारलाई राम्रो, खुसी र सुखीसँग पाल्ने अनि आफ्नो जीवन बनाउने सपना पोल्टामा बोकेर बिदेसिएका कतिपय नेपालीहरू त उतै अस्ताउँछन् । त्यति मात्रै होइन, शव ल्याउन पनि लासमाथिको राजनीति सुरु हुन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा मान्छे रोएको देखिन्छ । तर मान्छेको साथमा वास्तवमा देश दुख्छ र रुन्छ । देशको पीडा र देश रोएको न नेतृत्वले सुन्छ, देख्छ न त नजिकबाटै नियाल्छ । न त रोएको देशलाई कहिल्यै मलमपट्टी लगाउने बारेमा ध्यान दिन्छ । जे हुन्छ, आज हुन्छ, भोलि बिर्सिसक्छ ।
त्यसैले नै होला भोलिका भविष्यहरू आज आफ्नो आँसु झारेर भए पनि आफ्नो भविष्य सुरक्षित राख्न बिदेसिएका छन् । परिवार, आफन्त, नातागोता, मातापिता सबैलाई एक पटक रुवाएर र आफू रोएर भए पनि विदेश जाँदै छन् । किन पनि भने भोलिका यो देशका भविष्यहरू आफ्नो देशमा आफ्नै भविष्य सुरक्षित देख्दैनन् ।
नेताहरू नै दुई थरिका कुरा गर्छन् । सरकारमै रहेका मन्त्रीहरू एकातिर स्वदेशमै रोजगारी दिने कुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन् ।
चिकित्सक, नर्स, श्रमिकहरूका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरूले नै देखाउँछ । समग्रमा भन्दा आज देशको भविष्य रोएको छ । हेरौँ यसै पृष्ठभूमिमा न्युज एजेन्सी नेपालले कैद गरेका केही तस्बिरहरू : x
प्रतिक्रिया