१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रे अझै रोकिएन बालविवाह



काभ्रेपलाञ्चोक
२१ माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए ।
बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका ८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ ।

बालिकाको आफन्तले यही माघ १४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएपछि प्रहरीको सहयोगमा पीडित बालिकाको उद्धार गरिएको हो । भुजेललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार उजुरी दिएको भोलिपल्ट पीडितको स्वास्थ्य परीक्षण गरी पुनः आफन्तको जिम्मामा रामेछापस्थित घर फर्काइएको छ ।

पछिल्लो समय काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रअन्तर्गत महाभारत र खानीखोला गाउँपालिकामा माध्यमिकस्तरका विद्यार्थीले कमउमेरमै विवाह गर्न थालेपछि गाउँस्तरमा चेतनामूलक अभियान नै थालिएको छ । विशेषगरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीले बालविवाह गर्ने गरेको विद्यालयका शिक्षक बताउँछन् । “गत शैक्षिकसत्रमा कक्षा १० मा ५० विद्यार्थी भर्ना भएकामा ४२ मात्रैले अन्तिम परीक्षा दिएका छन्, अनुपस्थित आठमध्ये स्थानीयस्तरमा अनुसन्धान गर्दा छ छात्रछात्राले विवाह गरेको पाइयो”, महाभारत गाउँपालिका शिक्षा समिति सदस्य एवं गोकुले माविका प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाले भने । उनका अनुसार केही वर्षदेखि नै यस्तो क्रम जारी रहेकाले गाउँपालिका, विद्यालय, आमा समूह, वडा कार्यालय तथा स्थानीय युवा क्लबमार्फत जनचेतनामूलक कार्यक्रम तथा र्याली र प्रदर्शन गर्दै आइएको छ ।

महाभारतपारि अवस्थित तामाङ समुदायमा यस्तो घटना दोहोरिरहेको बताइन्छ । गाउँपालिकाले गत र चालु आर्थिक वर्षमा बालविवाह रोक्ने विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरेको अध्यक्ष कान्छालाल जिम्बा बताउछन् । “हामी बालविवाहका घटना न्यूनीकरणमा लागेका छौँ, विगत वर्षमा भन्दा सङ्ख्यात्मक दरमा केही कम गरिरहेका छौँ”, उनले भने । उहाँका अनुसार वडास्तरका सामाजिक अगुवालाई माध्यमिकस्तरका विद्यार्थीको घरघरमै गएर कम उमेरमा विवाह गर्दाको शारीरिक, मानसिक र आर्थिक असरबारे सम्झाउने अभियानसमेत गरिएको छ ।

बालविवाह न्यूनीकरण गर्दै रोक्नेसम्मको उद्देश्यसहित खानीखोला गाउँपालिकाले गत केही महिनामा बालविवाहविरुद्ध चेतनामूलक सडक नाटक अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ ।
बालविवाहलाई न्यूनीकरण गर्न गाउँपालिकाले तालिका बनाएर स्थानीय माध्यमिक विद्यालयमा सडक नाटक अभियान सञ्चालन गरेको हो । “बालविवाह एउटा ठूलो समस्या बनिरहेको अवस्थामा सडक नाटकमार्फत न्यूनीकरण गर्ने अभियान सञ्चालन गरेका छौँ, यसलाई पुनः निरन्तरता दिनुपर्ने देखिएको छ”, गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले भने । उनका अनुसार अभियानलाई आवश्यकताअनुसार निरन्तरता दिन गाउँपालिकाले बजेट छुट्याएको छ ।

गाउँपालिकामा बालविवाहको यकिन तथ्याङ्क नभए पनि समस्याका रूपमा रहेकाले योजनाबद्धरूपमा यसको न्यूनीकरण गर्दै बालविवाह रोक्नेसम्मको उद्देश्य राखिएको उनले बताए । उनले भने, “नाटकमा सानै उमेरमा विवाह गर्दा घरव्यवहार र शारीरिकरूपमा पर्ने समस्याबारे अभियानमा जानकारी दिने गरिएको छ ।” उक्त गाउँपालिकामा विशेषगरी अधिकांश तामाङ समुदायको बसोबास रहेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख भाग्यपुरुष ढकाल डाँडापारिका केही स्थानमा बालविवाह भइरहेको अनौपचारिक जानकारी प्राप्त भए पनि त्यसविरुद्ध कुनै उजुरी नपरेको बताए । उनले तत् क्षेत्रमा बालविवाह रोक्न सबै सरोकारवाला निकायबीच सहकार्य गर्न आग्रह गरेको जानकारी दिए । गत आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ स्थित एक विद्यालयमा अध्ययनरत सात विद्यार्थीले विवाह गरेका थिए । विद्यालयमा अध्ययनकै क्रममा विवाह गर्ने उनीहरूको ‘उमेर’ पुगेको थिएन । जिल्ला सदरमुकाम धुलिखेलकै उक्त विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीमध्ये केहीले आफूखुसी तथा केहीलाई अभिभावकले उमेर नपुग्दै विवाह गरिदिएको घटना एक अध्ययनले देखाएको थियो । अघिल्लो वर्ष सोही विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले ‘बालविवाह’ गरेको शिक्षक नै बताउँछन् ।

सो विद्यालयमा अध्ययनकै क्रममा विवाह गरेका बालबालिकाविरुद्ध भने कुनै निकायमा उजुरी परेको थिएन । बालविवाहको प्रकृति हेर्दा विद्यालयको एउटै कक्षामा अध्ययन गर्ने छात्र र छात्राबीच कुराकानी, सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा कुराकानी हुने र त्यसकै कारणबाट बाल अवस्थामै विवाह हुने गरेको धुलिखेलकै एक सामाजिक संस्थाको अध्ययनले देखाएको थियो ।

जिल्ला सदरमुकाम तथा बालमैत्री नगर घोषणा गरिएको स्थानमै बालविवाहजस्ता घटना भइरहँदा गम्भीर समस्या निम्तिँदै गएको देखिन्छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा बालविवाहविरुद्ध उजुरी नपरेसम्म चेतनामूलक अभियान र प्रचार–प्रसारबाहेक केही गर्न नसकिने बताउछन् । “विशेषगरी स्थानीय तहले बालविवाहविरुद्धका गतिविधि सञ्चालन गर्नुपर्ने हो, हामीले उजुरी नआएको हकमा प्रहरीसँग मिलेर सचेतनाबाहेक केही गर्न सक्दैनौँ”, उनले भने ।

नेपालमा २० वर्ष नपुगी गरिएका विवाह स्वतः रद्द हुने, विवाह गर्ने केटाकेटीका साथै गराउने व्यक्तिलाई तीन वर्ष कैद वा रु ३० हजार जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । नेपालले बालविवाहलाई विसं २०२० मै गैरकानुनी ठहर गरेको हो । दिगो विकास लक्ष्यले बालविवाह अन्त्य गर्ने लक्ष्य लिएसँगै नेपाल सरकारले पनि सन् २०३० सम्ममा मुलुकबाटै बालविवाह अन्त्य गर्ने राष्ट्रिय रणनीति अनुमोदन गरिसकेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : ५९ बजे