१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


काभ्रेमा खरको छानो हटाएर जस्तापाता राख्न सरकारको अनुदान



काभ्रेपलाञ्चोक
२२ माघ । काभ्रेपलाञ्चोकको दुर्गम मानिएका तीन गाउँपालिकामा सरकारको विशेष अनुदानमा स्थानीय घरका खरको छानो हटाएर जस्तापाता हालिने भएको छ ।
उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ । सरकारको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको तीन स्थानीय तहमा रहेका खरका छानो हटाएर जस्तापाताको छानो हालिने जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लाको तेमाल गाउँपालिकामा ८७ घरधुरी, खानीखोला गाउँपालिकाका ५७ र चौरीदेउराली गाउँपालिकाका ५२ घरधुरीमा रहेको खरको छानो हटाइने कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालयको कार्यक्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेका स्थानीय तहलाई पत्राचार गरी आफ्नो तहमा रहेका खरको छानो भएका घरधुरीको तथ्याङ्क माग गरिएको थियो । तथ्याङ्क मागिएका अन्य दुई जिल्लाबाट उक्त विवरण आएन ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये तीन गाउँपालिकाबाट मात्रै खरको छानो भएको घर परिवारको तथ्याङ्क प्राप्त भएअनुसार खरको छानो भएका बाँकी घरमा जस्तापाताले छाउन लागिएको हो ।
सरकारको विशेष अनुदानअन्तर्गत खरको छानो भएका घरधनीले जस्तापाताको छानो हालेबापत रु ६० हजार नगद उपलब्ध गराइने छ । सङ्कलित तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा खरको छानो हटाउन हाल रु एक करोड १७ लाख ६० हजार बजेट निकासा भएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ४ : ५६ बजे