१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


धुलिखेल खावा सडकको ठेक्का तोडिँदै



काभ्रेपलाञ्चोक
२३ माघ । काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल खावा सडकखण्ड विस्तारको काम सुस्त भएको छ । चार किलोमिटर उक्त सडकखण्ड विस्तारकार्य सम्झौताको करिब दुई महिना बाँकी रहँदा सरकारले निर्माण कम्पनीसँगको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा यस सडकखण्ड विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो ।
कार्यालयले सोमबार सूचना जारी गर्दै उक्त सडकखण्डमा कम्पनीले सम्झौताअनुसार काम नगरेर अलपत्र पारेपछि ठेक्का तोड्न लागिएको जनाएको छ । सूचनामा ठेक्का नतोड्नुपर्ने कुनै पनि कारण भए सात दिनभित्र स्पष्टीकरण पेस गर्न कार्यालयले निर्माण कम्पनीलाई समय दिएको छ ।

पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि निर्माणको काम बीचमा छाडेर कम्पनी सम्पर्कविहीन भएकोसमेत सूचनामा उल्लेख गरिएको छ । कम्पनीले आउँदो चैत १९ गतेसम्म उक्त कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । सम्झौताको समयावधि नजिकिँदै गर्दा एकतिहाइसमेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो ।

उक्त सडकखण्ड विस्तारका लागि व्यवसायीसँग रु २० करोड १९ लाख ४६ हजार पाँच पाँच सय एकमा सम्झौता गरिएको थियो । कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानतबापतको रकमसमेत जफत गर्ने योजना बनाएको जनाइएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागतसमेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाएको छ ।

गत मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनसमेत ठेकेदार कम्पनीले अटेर गर्दै आएको छ । यस्तै निर्धारित समयमा काम सम्पन्न गराउन जिल्लास्तरमा सरोकारवालाको पटक–पटक छलफल भए पनि ठेकेदार कम्पनीले काम गर्न आलटल गर्दै आइरहेको थियो । समयमै काम सम्पन्न नहुँदा घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुँदा यस सडक भएर आवतजावत यात्रा गर्ने यात्रुले सास्ती खेप्दै आइरहेका छन् । दैनिकजसो दुर्घटना हुने गरेको छ ।

निर्माणकार्यका लागि हाल आधा दर्जनको सङ्ख्यामा मजदुरको भरमा निर्माण कम्पनीले समय बिताइरहेको छ । जिल्ला तहमा उक्त कम्पनीलाई म्याद थप नगर्न दबाब बढिरहेको छ । “प्रमको प्रशासनिक तहमार्फत निर्माण कम्पनीलाई निर्देशन दिनुभएको खबर पाइयो, तर त्यसपछि पनि निर्माण व्यवसायीले अटेर गरेको देखिन्छ”, धुलिखेल नगरपालिका ८ का वडाध्यक्ष विनोद गौतमले भने ।

केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको हो । कार्यालयका इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार उक्त सडकखण्डको ठेक्का लिएको निर्माण व्यवसायीले काममा ढिलाइ गरेका हुन् । डिभिजन कार्यालयले निर्माण व्यवसायीले सुरुआती चरणदेखि नै काममा ढिलाइ गरेपछि कार्यालयले पटक–पटक पत्र काटेर ढिलाइ हुनुको कारण सोधेको उनले बताए ।

उनका अनुसार निर्माण व्यवसायीले कुनै पनि पत्रको जवाफ पठाउने गरेका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले पुनः पटक पटक सार्वजनिक सूचना जारी गर्दै गैरजिम्मेवारीपन देखाएको जनाउँदै समयसीमा दिएर लिखित स्पष्टीकरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएको थियो । सरोकारवालाले निर्माण व्यवसायीले उक्त सडकखण्डबाट अनधिकृतरूपमा माटो र ढुङ्गा निकालेर अन्यत्र बिक्री गरेको आरोपसमेत लगाउँदै आएका छन् ।

सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकको पूर्वी उत्तरी क्षेत्र अर्थात् उत्तरीनाका तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । चार महिनाअघि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भएपछि उक्त राजमार्गका सवारी चाप बढ्न थालेको छ । हाल कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लामो दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् भने दैनिक दुई हजार पाँच सय मालवाहक सवारी गुड्ने गर्दछन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : २७ बजे