१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुल्चोकस्थित श्री लालीगुराँस सहकारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितीको कव्जामा, कारोबार बन्द



ललितपुर
४ चैत्र

ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितीको कार्यालयले कव्जामा लिएको छ ।
आज विहान समितीका कार्यारत प्रहरीले कव्जामा लिएर ताल्चा लगाइदिएका हुन् । सहकारी कव्जामा लिनुअघि प्रहरी तैनाथ गरिएको थियो भने सहकारीमा बचत फिर्ता लिन आउनेहरुको भीड थियो ।
सहकारी कार्यालयलाई कव्जामा लिन पुगेका प्रहरी सहायक निरिक्षक राजकुमार सुनार, सञ्जय रोक्का र कर्मचारी दृष्य थापाले ललितपुर महानगर ३ नम्बर वडाका प्रतिनिधि, बचतकर्ता र सहकारीका कर्मचारीहरुको रोहोबरमा मुजुल्का बनाइ कार्यालय कव्जामा लिएका हुन् । सहकारी समस्याग्रस्त घोषणा र सरकारी निकायले नियन्त्रणमा लिएसँगै कारोबार आजबाट बन्द भएको छ ।
प्रहरी सहायक निरिक्षक थापाले कार्यालयको सबै कोठा सिलबन्दी गरिएको जानकारी दिए । कार्यालयले अर्को दिन खानतलासी र कागजात बरामदको कागज गरेर सरसामान नियन्त्रणमा लिने बताए । उनले भने, ‘अब श्री लालीगुराँसको कार्यालयबाट कारोबार हुँदैन सबै हिसाव कितावको फरफारक गरेर सहकारी कार्यालय विधिबत बन्द गर्छौं ।’

 

सहकारीको ढोकामा ताल्चा लगाउनुअघि सबै कर्मचारी कार्यालयबाट निस्केर घर गएका थिए । कार्यालयबाट बाहिर निस्कने बेलामा सबै कर्मचारीहरुले अनुहार छोपेर फर्केका थिए ।
सहकारी कव्जामा लिएपछि कर्मचारीहरुले ढोकामा सूचना टाँसेर सहकारी व्यवस्थापन समितीले सबै कागजात र सम्पती समिती समक्ष बुझाउन आग्रह गरिएको छ ।
गतफागुन २९ गते श्री लालीगुराँस सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।
सहकारीले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को देहाय खण्ड (क) देखि (च) अनुसार समस्याग्रस्त घोषणा गरिएको बताइएको छ ।
सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा (२) बमोजिम भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारी विभागले गरेको स्वतन्त्र अनुगमनको क्रममा सहकारीको सञ्चालक समितीले बचतकर्ताको बचत दुरूपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि किन समस्याग्रस्त घोषणा नगर्ने भन्दै गत माघ १५ मा स्पष्टीकरण सोधेको थियो । तर, सहकारीले चित्तबुझ्दो जवाफ नदिएपछि सहकारी विभागले समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।
सहकारीमा धेरै किसिमका कमजोरी पाइएको र बचत फिर्ता गर्ने स्पष्ट खाकासमेत पेस नगरेपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको थियो ।
बचतकर्ताले सहकारीमा जम्मा गरेको रकम दुरुपयोग गरी लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत तथा सचिव सुरेन्द्र भण्डारीलगायत सञ्चालकले निजी व्यवसाय सञ्चालन गरिरहेका छन् ।
उनीहरुले बचतकर्ताको बचत दुरुपयोग गरी लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुन्ड हाइड्रोपावर प्रालि, श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, श्री लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, श्री लालीगुराँस जनस्वास्थ्य कोअपरेटिभ लिमिटेडलगायत सञ्चालन गरेका छन् ।
संस्थाले २१औं वार्षिक प्रतिवेदनमा त लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेसन फाउन्डेसन प्रालि, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्रालि, भैरवकुण्ड हाइड्रोपावर लिमिटेड र वेब प्रोडक्सन प्रालिमा सेयर लगानी रहेको उल्लेख गरेको छ । जबकि सहकारी संस्थाले निजी कम्पनीमा लगानी गर्न पाउँदैन ।
सहकारीले दुई बर्षदेखि साधारणसभा समेत गरेको छैन । गत पुसभित्र दुई बर्षको साधारणसभा गर्ने भन्दै सहकारीले सूचना समेत प्रकाशित गरेको थियो । तर पटक पटक सूचना प्रकाशित गरेर साधारण सभा स्थगित भएको थियो ।

 

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १० : ०८ बजे