१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला आयोजना



१४ चैत्त । आगामी वैशाख २ गते जिब्रो छेड्ने तयारी गरिरहेको मध्यपुरथिमि बोडेमा यसवर्ष उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता तथा संस्कृति मेला २०८० आयोजना गरिने भएको छ । मध्यपुरथिमि नगरपालिकाको आयोजना तथा लाकुछेँ धिमे गुठी र खपला धिमे गुठीको सहकार्यमा यही चैत २६ गते बोडे दरबार (लायकु) मा प्रतियोगिता हुने भएको हो ।
धिमे बाजा प्रतियोगितामा ४० धिमे बाजा खलः, पुच, समूह वा सङ्घसंस्थालाई सहभागी गराइने प्रतियोगिता तथा संस्कृति मेलाका संयोजक दिलकृष्ण प्रजापतिल राससलाई जानकारी दिए ।  प्रतियोगितामा भाग लिने खलः, पुच, समूह तथा सङ्घसंस्थाले चैत २४ गतेभित्र आयोजक समितिको सचिवालय, मध्यपुरथिमि नगरपालिकाको कार्यालय र वडा कार्यालयबाट फाराम भरेर सहभागिता जनाउन सक्ने उनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजार, दोस्रो हुनेलाई रु २५ हजार, तेस्रो हुनेलाई रु १५ हजार र सान्त्वना पुरस्कारस्वरुप रु १० हजार पुरस्कार र शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।  प्रतियोगितामा सहभागी टोलीमा बढीमा पाँचजना रहने र प्रत्येक टोलीले दुई धिमे, दुई भुस्या तथा एक छुस्या वा अन्य बाजा प्रयोग गर्न पाइने छ उनका अनुसार प्रत्येक टोलीलाई पाँच मिनेटको समय दिइनेछ ।
संस्कृति मेला
धिमे बाजा प्रतियोगितासँगै संस्कृति मेला र तस्बिर प्रदर्शनीसमेत गरिने भएको छ । मेलामा स्थानीय रैथाने उत्पादन र खानाका परिकारको प्रवद्र्धनका लागि भक्तपुर चेम्बर अफ कमर्स, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, मध्यपुर पर्यटन विकास समितिको संयोजनमा स्थानीय रैनाथे उत्पादन र खानाका परिकार प्रदर्शनी एवं बिक्री कक्ष राखिने संयोजक प्रजापतिले जानकारी दिए ।
मेलामा मध्यपुर थिमिको मौलिक उत्पादन टिगनीको चिउरा, माटोको भाँडा बनाउनेतर्फ सेरामिक्स, मुकुण्डोको बनाउने विधि, बोडेका स्थानीय महिला समूहलगायतले नेवारी खानाका परिकारको कक्ष राखेर स्थानीय नेवारी परिकारको प्रवद्र्धनलगायत मेलामा स्थानीय उत्पादनका २५ कक्ष राख्ने तयारी भइरहेको उनले बताए ।
संस्कृति मेलामा मध्यपुरथिमिको कला संस्कृति झल्कने फोटो प्रदर्शनीसमेत हुने भएको छ । फोटो प्रदर्शनीका संयोजक चन्द्र चक्रधरले राष्ट्रिय समाचार समिति (रासस)का फाटो पत्रकार रत्नकृष्ण श्रेष्ठलगायत स्थानीय फोटो पत्रकारले विभिन्न समयमा खिचेका मध्यपुरको संस्कृति झल्कने तस्बिर प्रदर्शनमा राखिने जानकारी दिए । कार्यक्रममा बोडेमा जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका व्यक्तिलाई सम्मान गरिने भएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ०१ बजे