१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पर्यटन


बन्दीपुरमा केबलकार,पाँचतारे होटल र क्वीन टावर  निर्माण 



तनहुँ
२६ चैत । बन्दीपुर केबलकार एण्ड टुरिजमले अन्तराष्ट्रियस्तरको पाँचतारे होटल निर्माण गरिएको छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गास्थित केबलकारको तल्लो स्टेशनमा होटल निर्माण गरिएको हो ।
रु ५६ करोडको लागतमा ५६ रोपनी क्षेत्रफलमा होटल निर्माण गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् । आगामी वैशाख १ गते नयाँ वर्षको अवसरमा पाँचतारे होटल सञ्चालनमा ल्याइने तयारी भइरहेको उनले बताए ।
क्वीन टावर अन्तिम चरणमा  
बन्दीपुर–४ स्थित केबलकारको माथिल्लो स्टेशनमा निर्माणधीन सत्र तलाको ‘क्वीन टावर’ को काम अन्तिम चरणमा पुगेको छ । पाँचतारे होटलसँगै केबलकार पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको कम्पनीका अध्यक्ष शर्माले बताए ।
अन्तराष्ट्रियस्तरको ‘क्यूए सर्टिफिकेट’ लिने कार्य बाँकी रहेकाले सञ्चालनमा ढिलाइ भएको कम्पनीले जनाएको छ ।
केबलकारमा अहिले कम्पनीमा कार्यरत कर्मचारी ल्याउने लैजाने कार्य भइरहेको छ”, उनले भने, “सर्वसाधारण बोक्ने योजना तत्काललाई बनाइएको छैन ।” एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरमदृश्य अवलकोन गर्दै उक्त केबलकारबाट पर्यटकले आनन्दका साथ यात्रा गर्न सक्नेछन् ।
केबलकारको अहिले पटक–पटक परीक्षणको गर्ने कार्य भइरहेको अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको २१ डिब्बा यात्रु बोक्ने, छ वटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ डिब्बा हुनेछन् । एक डिब्बामा आठ जनासम्म यात्रुको क्षमता हुनेछ । “एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको छ”, उनले भने ।
केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । उनले भने, “न्यूनतम रु ५० देखि रु २५ हजारसम्म टिकट शुल्क तोकिएको छ ।”
पृथ्वीराजमार्गमा रहेको तल्लो स्टेशनबाट माथि स्टेशनको बन्दीपुर बजारस्थित कलेजमा पढ्न जाने र आउने विद्यार्थीलाई रु पचास, पत्रकारलाई रु तीन सय पचास, अन्य यात्रुका लागि रु पाँच सय, रेष्ट्रो क्याबिनको रु २५ हजार र ६५ वर्ष माथिका नागरिकलाई टिकटमा सहुलियत दिइने कम्पनीले जनाएको छ ।
केबलकार र पाँचतारे होटल गरी कूल रु तीन अर्ब अन्ठाउन्न करोडको लागतमा निर्माण सम्पन्न गर्न लागिएको कम्पनीका इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । उनका अनुसार बन्दीपुर आउने पर्यटकले केबलकारबाटै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै मनोरञ्जन प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार  ७ : ४९ बजे