१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु



काठमाडौं
४ वैशाख । सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि दशमीसम्म तीन दिन सेतो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ ।

आज साँझ ५ बजे जमलस्थित तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुने छ । जात्राको पहिलो दिन आज सेतो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखी जमलबाट विभिन्न टोल हुँदै असन पु¥याएपछि बलि दिएर पूजा गर्ने परम्परा छ ।

नवमीका दिन असनबाट रथ तानेर हनुमानढोकाको कालभैरव पु¥याइन्छ । चैत शुक्ल दशमीका दिन हनुमानढोकाबाट विभिन्न टोल हुँदै रथ तानेर लगनटोल पु¥याएपछि रथयात्रा सम्पन्न हुन्छ ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए । उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठह¥याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ । सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ७ : ५५ बजे