३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको टौदहमा सशस्त्र प्रहरीद्वारा ‘मनसुन–२’ विपद् अभ्यास



काठमाडौँ
१६ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल नं ९ पशुपतिनाथ वाहिनी मुख्यालय, बलम्बुले आज काठमाडौँको टौदहमा विपद् अभ्यास ‘मनसुन–२’ सम्पन्न गरेको छ । यसअघि चन्द्रागिरि केबुलकारमा सफलरुपमा विपद् अभ्यास ‘मनसुन १’ सम्पन्न गरेको उक्त वाहिनीले आज टौदहमा मनसुन २ अभ्यास गरेको हो ।

मनसुनका समयमा हुने बाढी, पहिरो र मुख्यगरी डुबानका समयमा गरिने उद्धारका विषयमा आज टौदहमा अभ्यास गरिएको वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी दिएका छन् ।

उनका अनुसार मनसुनको सुरुआतसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनामा प्रतिकार्य गर्न पूर्वतयारीका कार्यक्रमस्वरुप आज अभ्यास गरिएको हो ।

यो उपलब्ध खोज तथा उद्धारका सामग्रीहरुको अधिकतम प्रयोग गरी जिल्ला एवं प्रदेशस्थित विपद् व्यवस्थापनसँग सरोकार राख्ने निकायहरुसँग समन्वय गरी वाहिनीस्तरीय विपद् प्रतिकार्य अभ्यास भएको पनि उनले बताए ।

उक्त अभ्यासपछि आयोजित समारोहमा सशस्त्र प्रहरीको कार्य विभागका विभागीय प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले यस्ता अभ्यासले उद्धारमा प्रभावकारी काम गर्न सक्ने भएकाले नियमित आयोजना गर्नुपर्ने र सशस्त्र प्रहरीले त्यो काम जारी राखेको बताए ।

वाहिनीका अनुसार उक्त अभ्यासको मुख्य उद्देश्य सम्भावित विपद्का घटनामा प्रतिकार्यका लागि तयार रहन फौजको क्षमता अभिवृद्धि र सामग्रीहरुको अद्यावधिक गर्न, सरोकारवाला निकायहरुबीच समन्वय कायम गर्न, ज्ञान आदानप्रदान गर्न र विपद्को समयमा यसले पु–याउन सक्ने क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा तत्काल टोली परिचालन गर्नु रहेको बताइएको छ ।

आजको अभ्यासमा –याफ्टिङ, मोटरबोट, डोरीबाट हुने उद्धार अभ्यास गरिएको थियो । पानीमा डुबेकाको उद्धार, पानी मुनि रहेको शवको खोजी, अड्किएको स्थान र जोखिमपूर्ण स्थानमा अड्किएका मानिसको उद्धार गर्ने अभ्भास गरिएको थियो ।

गोताखोर तालिम गरेका दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितहरुको उद्धार गर्ने कला समेत प्रदर्शन गरेका थिए । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले विपद् प्रतिकार्यमा सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायहरुबीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्राय रहेको बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका इकाइहरुमार्फत जम्मा तीन सय ६१ एकल एवं संयुक्त अभ्यास गरेको बताए । सो क्रममा गृह मन्त्रायलका उपसचिव रमा आचार्यले विपद्पूर्व अभ्यास अत्यन्त जरुरी रहेको र यसले क्षति न्यूनिकरण गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  २ : ४७ बजे