८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपनिर्वाचनः इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी



१८ वैशाख । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । नेकपा एमालेले सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए । निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । रास्वपाका लिम्बुले कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले जमानत जफत भएको छ ।

प्रदेश सभा सदस्यका लागि बझाङ (१) मा उपनिर्वाचनमा पनि नेकपा एमालेकै उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भइसकेका छन् । अघिल्लो निर्वाचनमा बझाङ (१) बाट कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  १२ : ३७ बजे