७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारसहित १२ जनाविरूद्ध भ्रष्‍टाचार मुद्दा दायर गरेको छ।

आयोगले बिहीबार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्‍याएर भ्रष्टाचार गरेको भन्दै १२ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

जलेश्वरका मेयर सोनार, उपमेयर रौशन खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, अधिकृत छैठौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सबइन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन र वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झाविरूद्ध मुद्दा दायर भएको हो।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरूद्ध पनि मुद्दा दायर भएको छ। आर्थिक वर्ष २०७९/०८० मा बरूणसर पोखरी नजिकै रहेको बजार क्षेत्रभित्र पीपीसी ढलान गरिएको थियो।

उक्त ढलान गर्दा योजनाको वास्तविक भए/ गरेको कार्यभन्दा बढी काम गरेको भनेर झुट्टा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको भुक्तानी बिल र अनुगमन प्रतिवेदन चेकजाँच नगरी भुक्तानीका लागि टिप्पणी पेश गरेको अख्तियारले बताएको छ।

उनीहरूले ५ लाख ८४ हजार ६३७ रुपैयाँ भ्रष्टाचार गरेको प्रवक्ता नरहरि घिमिरेले बताए। उनीहरूविरूद्ध अख्तियारले उक्त रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना गर्न मागदाबी गरेको छ।

अख्तियारले मेयर सोनार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढकाल र अधिकृत धिरेन्द्रविरूद्ध तीन महिनादेखि तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल गर्न माग गरेको छ।

त्यस्तै, अख्तियारले वरिष्ठ इन्जिनियर पवनकुमार, इन्जिनियर राकेशकुमार, सब-इन्जिनियर दिपेशकुमार, उपमेयर रौशन, कार्यपालिका सदस्य सोगरा र वडाध्यक्ष अनिलकुमारविरूद्ध पनि सोही विरूद्ध तीन महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना माग गरेको छ।

उपभोक्ता समिति अध्यक्ष राकेशकुमार, सचिव सिकेन्द्र र कोषाध्यक्ष संतोषीविरूद्ध दुई वर्षसम्म कैद वा बिगो बमोजिम जरिवाना माग गरेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ८ : ३७ बजे