७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु करिडोरमा टिपर गुड्दा स्थानीयलाई सास्ती



२७ वैशाख । ललितपुर महानगरपालिका–१३ कुसुन्तीको नख्खु खोला करिडोरमा रातभरि टिपर गुड्दा स्थानीयले निन्द्रा नपर्ने गुनासो गरेका छन् । लालितपुरको टीकाभैरवको ढुङ्गाखानीबाट सञ्चालन हुने टिपरका कारण ललितपुर–४ नख्खु खोला पुलबाट रानेबुसम्म बस्तीका बासिन्दा टिपरको कारण समस्यामा परेका हुन् ।

अन्य ठाउँमा पक्की सडक भए पनि नख्खु खोला करिडोरको करिब दुई किलोमिटर सडक पक्की छैन । पक्की सडक नहुनु र बस्तीछेउबाट रातभरि टिपर गुड्दा आफूहरूले सास्ती भोगिरहेको स्थानीय बताउँछन् ।
बस्ती छेउबाट टिपर गुडाउनलाई सडक पक्की र व्यवस्तित गरिदिन पटक–पटक ललितपुर जिल्ला प्रशासन र महानगरलाई अनुरोध गरे पनि आश्वासनमा मात्र सीमित रहेको ललितपुर–१३ का वडाध्यक्ष गणेश केसीले बताए ।
उपत्यकाको बागमती नदी करिडोरसहित अन्य नदीको करिडोर व्यवस्ति भए पनि नख्खुखोला करिडोर अस्तव्यस्त रहेको वडाध्यक्ष केसीले बताए । बस्ती छेउबाट टिपर गुड्ने सडक व्यवस्थित गर्नका लागि स्थानीयले आन्दोलन गरेर सडक बन्द गरे पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

विसं २०७२ को भूकम्पलगत्तै बस्ती छेउबाट टिपर गुड्न सुरु भएकोभन्दै हालसम्म पनि सडक व्यवस्थित नहुँदा स्थानीयले सास्ती खेपिरहेको रामनारायण महतोले बताए ।
ललितपुर–१३ कुसुन्तीका प्रतीक गुप्ताले भने, “टिपरको आवाजका कारण रातमा निद्रा पर्दैन । यस्तै भइरहे बालबालिकाको स्वास्थ्य अवस्थामा नकारात्मक असर पर्ने निश्चित छ ।” करिब दुई सयभन्दा बढी घरधुरीले बस्ती छेउको कच्ची बाटोमा टिपर गुड्दा सास्ती खेप्नुपरेको बताउँदै आएका छन् ।
आफ्ना समस्या लिएर अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय पुगेर गुनासो पोख्दा पनि समस्याको सामाधान नभएको स्थानीय बताउँछन् । नख्खु करिडोरमा टिपर गुडाउन बन्द नगरे पनि सडक पक्की र व्यवस्थित गराउनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ४ : ५३ बजे