११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चापागाँउ ठेचो सडकमै गहुँ चुट्छन् स्थानीय, रोक्दैन प्रशासन



चापागाँउ,ललितखबर
७ जेठ । सदरमुकाम पाटनबाट दक्षिणतर्फ जाने क्रममा एउटा साँधुरो सडक छ, कान्ति लोकपथ । सुनाकोठी ठेचो हुँदै दक्षिण ललितपुरको मुख्य शहर चापागाँउसम्म जाने क्रममा बेला बेलामा सडकमै गहुँ जौं चुट्न राखिएको देखिन्छ ।
गाडीको चक्काले कुल्चाएर झार्न राखिएको गँहु जौंको बोटमा अल्झेर साइकल मोटर साइकल दुर्घटना हुने गरेको छ । सडकमा गाडी गुडिरहेको अवस्थामै किसान बोट चलाउने गहुँ निकाल्ने जस्ता काम गर्दा दुर्घटनाको खतरा हुन्छ । चालकलाई सवारी चलाउन बाधा पर्छ ।
तर स्थानीय सरकारको रुपमा रहेको गोदावरी नगरपालिकाले यस्ता गम्भिर कृयाकलाप रोकेको छैन । प्रहरी प्रशासनपछि थाहा छैन भन्दै बसेको छ । महानगरिय ट्राफिक प्रहरी प्रभाग चापागाँउका प्रमुख सही प्रकाश भट्टले यस्ता कृयाकलाप नै नभएको दाबी गरे । उनले भने, ‘हामी भेटेको खण्डमा रोक्छौं । परम्परादेखि चलेकोले कारवाही नै चाही गर्न सकिदैन ।’
ट्राफिक प्रहरीले घटना नै नहुँन दाबी गरेपनि यहाँको सडकमा बेला बेलामा गहुँ चुट्न सडक प्रयोग गरिरहेको देख्न सकिन्छ ।
स्थानीय सरकारको रुपमा रहेको गोदावरी नगरपालिकाले पनि यस्ता गम्भिर घटनालाई नजरअन्दाज गरिरहेको छ । गोदावरी नगरपालिकाका नगर प्रहरी इन्चार्ज होमबहादुर बुढाथोकी सडकमा गहुँ चुटेको विषयमा ललितखबरले प्रश्न गर्दा सडकमा भएको अवरोधलाई हेर्ने आफूहरुको काम नभएको भन्दै पञ्छिए । उनले भने, ‘हामीलाई मेयर गजेन्द्र महर्जनले आदेश दिनु भएको छैन । हामी आदेश आएपछि मात्रै काम गर्ने हो ।’
ठेचोका एक स्थानीयले नाम उल्येख नगर्ने शर्तमा स्थानीयहरुले जे गर्दा पनि फरक नपर्ने मानसिकता भएकाले सडकमै गहुँ चुट्ने गरेको बताए । उनले भने, ‘शिक्षित घर परिवार भए पनि अरुलाई असर गर्न भन्ने जान्दा जान्दै घटना दोहोरिरहेको छ ।’
उनका अनुसार पछिल्लो समय सडकमा गहुँ चुट्ने क्रम भने निरन्तर घट्दै गइरहेको छ । दश पन्ध्र वर्ष अघि यो सडकमा सबैजसो किसानले सडकमै गहुँ गाडीलाई कुल्चाएर चुट्ने गर्दथे ।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : ०३ बजे