भक्तपुर
६ असार । भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाद्वारा कृषि विकास बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।
नगरपालिकाले मध्यपुर ठिमी नगरको वडा नं. ३ स्थित गठ्ठाघरमा कार्यालय स्थापना गरी वितिय कारोवार गर्दै आएको कृषि विकास वचत तथा सहकारीको देशभर संचालकहरुको नाममा रहेको सम्पत्ति समेत रोक्का गरेको छ ।
आफ्नो क्षेत्रमा सञ्चालित सहकारी संस्थालाई स्थानीय सरकारवाट पहिलोपटक जनताको बचत फिता नगरेकामा समस्याग्रस्त घोषणा गरी कालो सूचीमा राखेको नगरपालिकाका उपप्रमुख तथा स्थानीय सरकारको न्यायिक समितिका संयोजक विजय कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार मध्यपुर ठिमी नगरपालिकाले स्थानिय सरकारको अधिकार क्षेत्रलाई प्रयोग गरि सहकारीको पूर्ण व्यवस्थापन गर्ने र अनुगमन गरी सहकारी संस्थालाई नियमन गर्नका लागि सहकारी ऐन जारी गरेको र सोही आधारमा समस्याग्रस्त घोषणा गरेर सम्पत्ती रोक्का गरेको बताएका छन् ।
सो निर्णय लिनुअघि सहकारीका संचालक र पिडित बचतकर्ताहरुबिच छलफल गराएर सहमती गराउने प्रयास पटक पटक भएको थियो । तर सहकारीका अध्यक्ष तथा संचालकहरुले सदस्यहरूको वचत रकम फिता गर्न कुनै पहल नगरेपछि थिमि नगरपालिकाले ऐनमा भएको अधिकारलाई प्रयोग गरी सो सहकारीलाई समस्याग्रस्त घोषणा कार्यपालिकाले जानकारी दिएको छ ।
नगरउपप्रमुख श्रेष्ठले व्यवस्थापन समितिमार्फत रकम फिर्ता नगर्ने सहकारीहरुलाई कार्यवाही अगाडि बढाउने बताएका छन् ।
उनले सहकारीको, नियमन गर्न, अनुगमन समिति, व्यवस्थापन समिति, ऋण असुली न्यायधिकरण, स्थिरिकरण कोषको ब्यवस्था गर्ने, नगरस्तरीय सहकारी समन्वय समिति, कर्जा सूचना केन्द्रको ब्यवस्था गर्नुका साथै सहकारी ऐनमा सहकारीको विवाद सम्वन्धमा प्रारम्भिक सुनबाई न्यायिक समितिबाट हुने व्यवस्था गरेको जानकारी दिए ।
स्थानिय सरकारको प्रत्याभुति दिनेगरी मध्यपुर ठिमी नगरपालिकाले संविधानमार्फत प्राप्त अधिकार पुर्ण रुपमा प्रयोग गरी केही समय अगाडि आफ्नो स्थानीय तहमा रहेका सहकारीहरुको व्यवस्थापन र अनुगमन गर्नका लागि सहकारी ऐन जारी गरेको नगरपालिकाल बताएको छ ।
पछिल्लो समय देशका सरकारी संस्थाहरुमा समस्या देखिएको छ साथै हाल नेपाल भरि नै सहकारीहरुमा रहेको आम जनसमुदायको रकम सहकारी संञ्चालकहरुको मिलेमतोमा हिनामिना गर्ने र व्यक्तिगत हितमा सहकारीको रकम अपचलन गर्ने कार्य बढ्दै गइरहेको छ ।
प्रतिक्रिया