४ श्रावण २०८१, शुक्रबार | Fri Jul 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउने प्रस्ताव पेश गर्न संसदीय समितिको निर्देशन



२६ असार । संसदीय समितिले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकले मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मुलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष पेश गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले बैठकमा खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव र सम्बन्धित निकायका पदाधिकारीहरुसँग काठमाडौँ उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवम् सहज आपूर्तिका लागि देखिएका समस्या चुनौती लगायतका विषयमा छलफल भएको थियो । सोही छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।

त्यस्तै समितिले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचीमा उल्लेखित रोयल्टी लगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसैगरी खानेपानी आपूर्तिका लागि ईआईए सम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन पनि वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

‘‘काठमाडौँ उपत्यकामा स्वच्छ खानेपानी व्यवस्थापन गर्न स्थानीय सहायक स्रोतको रुपमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको पानी निर्वाध आपूर्तिका लागि उक्त निकुञ्जसम्बन्धी नियमावलीको अनुसूचिमा उल्लेखित रोयल्टी लगायतका आवश्यक विषयमा तत्काल आवश्यक संशोधन गरी गर्न र ईआईए सम्बन्धी प्रक्रिया टुङ्ग्याई सहजीकरण गरिदिन वन तथा वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउने,’’ बैठकको निर्णयबारे जानकारी दिदै विकास, आर्थिक मामिला तथा सुशासन समितिका उपसचिव लक्ष्मण अर्यालले भने, ‘‘मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति र वितरण गर्न देखिएका मुलभूत समस्याको समाधानका लागि ठोस सुझावसहितको प्रस्ताव समिति समक्ष प्रस्तुत गर्न खानेपानी मन्त्रालयको ध्यानाकर्षण गराउने ।’’

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १० : १९ बजे