३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


मृत्युपछि संगीतकर्मी गुरुदेव कामतको प्रशंसा, बाचुञ्जेल उपचार नभएकोमा पछुतो



काठमाडौँ
२६ साउन । मृत्युपछि संगीतकर्मी गुरुदेव कामतको प्रशंसा गरिएको छ । जीवनको अन्त्यतिर स्वाथ्योपचार गर्न नसकेर काठमाडौंबाट गाँउको घर फर्केका दिवङ्गत शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतको १०औं दिनको पुण्यतीथिमा स्मरण गरिएको हो ।

आज जमलस्थित नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै उनले पु¥याएको योगदानको चर्चा गरियो ।

कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताए । उनले भने, “उहाँ निकै सरल र मिलनसार स्वभावको हुनुहुन्थ्यो । आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे । उहाँका शिष्यले नै अब सङ्गीतमार्फत अमर बनाउनुपर्छ ।”

कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिए । उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताए ।

गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताए । “मैले र गायक कामतले सँगै धेरै काम गरेका छौँ । नाटकदेखि गायनसम्म हामीले सहकार्य गर्यौँ”, उनले भने ।

उनले गायक कामतको सम्झना दुई गीत गुनगुनाए । “उहाँले मलाई चलचित्रमा गीत गाउन दिनु भन्नुभएको थियो । तर, ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ । उहाँको त्यो गुनासो सम्झिरहेको छु, अब उहाँको कामलाई सङ्ग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ”, मुरलीधरले भने ।

सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुसाशित साधक रहेको बताए । “गीतसङ्गीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ । उहाँ त्यो कायम गरेर साधना गर्नुहुन्थ्यो । हामीले उहाँको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । यसका लागि हामीले धेरै कार्य गर्नु छ”, उनले भने ।

उनले सङ्गीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गरे । गायक कामतको शिष्य रहेकी गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिमपटक कुराकानी गरेको स्मरण गरिन् ।

उनले भनिन्, “उहाँसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो । मैले उहाँसँग विसं २०२५ देखि २०४८ सम्म सङ्गीत सिकेकी थिएँ । त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो । उहाँले शास्त्रीय सङ्गीतलाई नछाडी अन्यलाई अँगाल्नु भन्नुभएको थियो । तर, विविध कारणले मैले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ ।”

कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौँ छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताए । “बिरामीहरु काठमाडौँ उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्किनुभयो । यहाँ उपचारमा आर्थिक सङ्कट भएपछि गाउँमै केही होला भनेर फर्किनुभएको हो । हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौँ, तर उहाँले छिट्टै छाडेर जानुभयो”, अध्यक्ष प्रधानले भने ।

त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाएका थिए । यस्तै, उहाँका शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र सङ्गीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले….’ गीतमार्फत श्रद्धाञ्जली दिएका थिए ।

यहीसाउन १७ गते दिवङ्गत भएका गायक कामतको १०औँ दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार  ४ : १४ बजे