९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘देबी’ : आक्रोसको आगो ओकल्ने चलचित्र



ललितखबर
२१ भदौं । राजधानीको चोभारस्थित वागमती खोलामा केही बग्दै आइरहेको छ । खोलाको छेउमै रहेको पुलमा एक युवती उभिएकी छिन् । अचानक चर्को आवाज सुनिन्छ । चलचित्रकी पात्र काया(शिल्पा मास्के) बेचैन हुन्छिन् । यो सपनाको दृश्य उनको आँखामा निरन्तर झल्झली याद आइरहेको छ । मानसपटलमा एउटै दृश्य दोहोरिन थालेपछि उनले डिपे्रसनको औषधि खान्छिन् ।
चलचित्र ‘देबी’को दृश्य हो यो । चलचित्रकी पात्र कायाकी बहिनी सायालाई कसैले बलत्कार गरेर हत्या गरेको घटनापछि विछिप्त बनेपछि उनले हत्याको बदलामा गरेको रहस्यमय हर्कत चलचित्रमा समेटिएको छ । चलचित्र ‘देबी’ व्यावसायिक फोटोग्राफी गरिरहेका सञ्जोग राईको डेव्यु निर्देशनमा निर्माण गरिएको हो ।
एउटा अनाथालय संचालक आकाशजंग राणा(नाजिर हुसेन),प्रहरी अधिकृत सुधिर (गौरव पहारी) र पत्रकार काया शिल्पा मास्के) वरिपरि चलचित्र घुमेको छ । अपराध विधा (क्राइम जनरा)मा निर्माण गरिएको चलचित्र पछिल्लो बर्षहरुमा देशमा घटिरहेका महिलाहिंसा र बलत्कारका घटनाबाट प्ररित छ ।

सबल पक्ष
नेपाली सिने बजारमा एकै किसिमको चलचित्र प्रर्दशन भइरहेको बेला अपराध विधा(क्राइम थ्रिलर जनरा)को चलचित्र निर्माण भएको छ । दर्शकले फरक स्वादको चलचित्र हेर्न पाउने भएका छन् ।
फोटोग्राफीको राम्रो ज्ञान भएका निर्देशक संजोग भएर हुनसक्छ चलचित्रको दृश्यहरुमा प्रकाशको संयोजन राम्रो मिलेको छ । हत्या र अपराधको योजना बुन्नेहरु साँझपखको गोधुली साँझमा हिडिरहेको देखाइएको छ । रातका दृश्यहरुले आँखा बिझाउदैनन् । अध्यारो बेला उज्यालो देखाइएको छ ।
चलचित्रको घटना र हाम्रो समाजले भोगिरहेको कथा रहेको कारण सन्दर्भिक कथाबस्तुलाई चलचित्रको पर्दामा उतारिएको छ । यस्तै मौलिक र समयसान्दर्भिक विषयबस्तु नेपाली समाजले हेर्न चाहेको छ ।
यस्ता चलचित्रलाई राज्यको सहयोग नहुँदा पनि व्यावसायिक चलचित्रभन्दा फरक सामाजिक मुद्दालाई चलचित्रमा देखाउने निर्देशक संजोग राई र निर्माता रेमन गुरुङको आँटलाई चाही मान्नैपर्छ ।


दुर्बल पक्ष
चलचित्रको कथा र पटकथामै समस्या देखिन्छ । गहन विषयमा आवेग र आक्रोसलाई प्राथमिकता दिइएको छ । चलचित्रमा क्रुर दृश्यहरु समावेश छन् । अपराधको बदलामा अपराधलाई प्रश्रय दिइएको छ । चलचित्रको कथाले समाजलाई सही मार्गनिर्देशन गर्दैन । मात्रै आक्रोसको आगो ओकलेको छ ।
हरेक समाजमा घट्ने अनेकौं अपराधका घटनाले धेरैलाई लखेटेको हुन्छ । संसारभर अपराधका चलचित्रलाई ज्यादै रुचिको विषय बनाएर दर्शकले हेरेको पाइन्छ । अपराधमा आधारित चलचित्र ‘देबी’मा भने रुचिकर दृश्य र रहस्यले कौतुहल भेटिदैन । अपराध अनुसन्धानका नयाँ मोडमा पुगेपछि दर्शक अचम्मित बनाउन कथा बुन्न सकिन्थ्यो । प्रहरी अनुसन्धानका क्रममा नयाँ नयाँ तथ्य फेला पार्दै दर्शकलाई बाँधेर अघि बढाउन सकिन्थ्यो ।
मध्यान्तरअघि हत्या र हिंसाका धेरै दृश्य छन् । त्यो हत्या कसले र कि गरिरहेको छ खुल्दैन । दर्शकलाई कहाँ कसले र किन हत्या र बलत्कार ग¥यो खुल्ने गरेर कथा अघि बढ्दैन ।
चलचित्र तुलनात्मक रुपमा छोटो छ । डकुमेन्ट्री शैलीमा निर्माण गरिएको चलचित्रमा हास्यविधा,संगीत र द्वन्द्वका दृश्य नहुँदा बेलाबेलामा दिक्कलाग्दो(मोनोटोनस) अनुभव हुन्छ ।
चलचित्रको दृश्यभाषा कमजोर छ । चलचित्रमा दृश्यहरु हतार हतार अघि बढाइएको छ । पात्रहरुले संवाद एकदमै चर्को स्वरमा बोलेको सुनिन्छ । पार्शसंगीतले चलचित्रलाई सुन्दर होइन, झर्कोलाग्दो बनाएको छ ।
निर्देशक राईले कतिपय ठाँउमा हिंसालाई कलात्मक रुपमा देखाएका छैनन् । हिंसाका क्रुर दृश्यहरु हेर्न नसकेर धेरै ठाँउमा आँखा छोप्नु पर्ने अवस्था छ । जसलाई कलात्मक रुपमा देखाउन सकिन्थ्यो ।
जनचेतनाका लागि बनाएको एउटा टेलिचलचित्र जस्तै छ चलचित्र ‘देबी’ । चलचित्र हेर्दै गर्दा जनचेतना धेरै मनोरञ्जन थोरै भेटिन्छ । दर्शकले पैसा खर्च गरेर चलचित्र शिक्षा लिनका लागि होइन, मनोरञ्जनका हेर्छ भन्ने हेक्का निर्देशकले राख्नु पर्ने हो ।
चलचित्रमा पात्रहरुलाई तर्क संगत रुपमा देखाइएको छैन । काया पत्रकारको भेषमा अपराधमा संलग्न रहेको देखाइएको छ । जुन धेरै हदसम्म हामीले देखेका भोगेका छैनौं । प्रहरी अधिकृत सुधिर महानिरिक्षकको इच्छाविपरित अनुसन्धानमा खटिरहेका छन् । यस्तो प्रहरीको चेन अफ कमाण्डमा सम्भव नै छैन । चलचित्रमा कायाको पत्रकारिता यात्रा अस्वभाविक रुपमा विच बाटोमै हराउछ । अन्तिम दृश्यमा एकान्तमा जहाँ हत्या हुन्छ, त्यहाँ प्रहरी आइपुग्छ । अनि नारावाजी गर्न पम्प्लेट बोकेर एक हुल आन्दोलनकारी आइपुग्छन् । जुन ज्यादै अमिल्दो छ । यस्तो पनि हुन्छ र ? जस्तो लाग्छ ।


शिल्पा मास्के (काया)
शिल्पा मास्के चलचित्रको हिरो पात्रको रुपमा स्थापित छिन् भन्दा फरक पर्दैन । उनीमाथि केन्द्रित चलचित्र रहेका कारण उनको अभिनय क्षमताले खास अर्थ राख्छ । तर शिल्पाको अभिनय हेर्दा उनी मनदेखि नै अभिनय गरेको पाइदैन । उनी पात्रमा डुवेर अभिनय गर्न नसकेको पटक पटक अनुभव हुन्छ । कतिपय ठाँउमा उनको एक्प्रेसन, हाउभाउ पुगेको छैन ।


गौरव पहारी (सुधिर)
अभिनेता गौरव पहारीले चलचित्रमा संवादहरु तुलनात्मक रुपमा चर्को बोलेको झर्कोलाग्दो छ । उनले हरेक दृश्यमा मुखमा सिन्को हालेको दृश्य अस्वभाविक र अनावश्यक लाग्छ । प्रहरी अनुसन्धानमा उनी अन्तिमसम्म विफल छन् । तर पनि अनुसन्धान जारी राखेका छन् । कसको आदेशमा अनुसन्धान भइरहेको छ दर्शकले भेउ पाउदैनन् ।


नाजिर हुसेन (आकाशजंग)
चरित्र निर्माण अभिनय क्षमताको हिसावमा नाजिरले चलचित्रमा राम्रो अभिनय गरेका छन् । उनको रहस्यमय चरित्रले चलचित्रमा थप रुचि जगाउन सहयोग गरेको छ । उनको पात्रको चरित्र र अभिनयले दर्शकमा रुचि जगाउन सफल छ । यद्यपी उनको संवादशैली पुरानै छ । फरक चरित्र र मौलिक अभिनय कलाको अभाव छ । अभिनयकलामा नयाँपन भने ल्याउन सकेका छैनन् ।
चलचित्रमा टिका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइरालालगायत कलाकार पनि देखिएका छन् । तर उनीहरुको भूमिका उल्येखनीय छैन ।
प्रविधि
चलचित्रमा पार्श संगीत झर्कोलाग्दो सुनिन्छ । दृश्यहरु अलि अध्यारो लाग्नसक्छ । कलर मध्यम छ । कतिपय ठाँउमा क्यामेरा हल्लिएको अनुभव हुन्छ । छायांकनको क्रममा दृश्यहरुमा विविधता छैन । उज्वल जोशीको कलर र नगेश कन्डेलको भिएफएक्स सामान्य छ । शैलेश श्रेष्ठ र विशेष पाण्डेको संगीतले चलचित्रमा प्रभाव छोडेको छैन । रजिप महर्जन र समिन प्रधानको भेषभुसा पनि सामान्य छ ।
निश्कर्ष
नेपाली चलचित्र क्षेत्रको दायरा फराकिलो बनाउन यस्तै समय सान्दर्भिक सामाजिक कथालाई कलात्मक रुपमा देखाउने निर्देशकहरु आउनु जरुरी छ । फरक विधा(जनरा) लाई चलचित्रमा स्थापित गर्न चलचित्र क्षेत्रमा निर्देशकले भने धेरै काम गर्न बाँकी छ ।
चलचित्र हेरिरहँदा चलचित्रको कथा लेखनमा थप अध्ययन र मेहनत गर्न सकेको भए झन् राम्रो काम गर्न सकिने सम्भावना देखिएको छ । सक्षम कलाकारलाई निर्देशक राईले सरज र सहज रुपमा काम निकाल्न मेहनत नै नगरेको अनुभव हुन्छ ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार  ९ : ३१ बजे