२५ फाल्गुन २०८२, सोमबार | Tue Mar 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सोह्रश्राद्धमा पुरोहितलाई भ्याइनभ्याइ



एकै दिन पाँच ठाउँमा श्राद्ध गराइदिनुपर्ने भएपछि एकाबिहानैदेखि व्यस्त हुन्छु । यो सयम दौडादौड नै हुन्छ, घरको काम त हेर्नै भ्याइँदैन

महोत्तरी
५ असोज । महोत्तरीको बर्दिबास–२ का दिनेशकुमार झालाई अहिले घरका नियमित कामकाज हेर्ने फुर्सद नै छैन । घरको ससानो काममा पनि परिवारका हन्य सदस्यलाई सघाउने उनलाई हिन्दू परम्पराको पितृपक्ष सुरु भएदेखि घरबाहिरको काम भ्याइनभ्याइ छ ।

कर्मकाण्डी पुरोहित झालाई अचेल एकै दिनमा कैयौँ व्यक्तिको श्राद्ध गराई दिनुपर्ने भएपछि धपेडी बढेको हो । “यो सयम दौडादौड नै हुन्छ, घरको काम त हेर्नै भ्याइँदैन”, झा भन्छन्, “एकै दिन पाँच ठाउँमा श्राद्ध गराइदिनुपर्ने भएपछि एकाबिहानैदेखि व्यस्त हुन्छु ।”

दिनेश मात्र नभएर उहाँकै दाजु महेशकुमार झा पनि पितृपक्षमा व्यस्त छन् । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराइदिनुपर्ने भएकाले पुरोहितहरूलाई अहिले भ्याइनभ्याइ छ । सोह्रश्राद्धमा पितृको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चार÷पाँच ठाउँमा कर्मकाण्ड गराउनुपर्ने भएपछि आपूmहरूका लागि एकछिन पनि थकाइ मार्ने समय नभएको बर्दिबास–१ का अर्का पुरोहित पुष्पराज काफ्ले बताउछन् । “हेर्नोस् न, आफ्नो पनि खेतीपाती छ, पोटाउँदै गरेको धानमा मल छर्ने बेला छ, यहीबेला पितृपक्षमा सबै यजमान कहाँ पुग्नुपर्ने पारम्परिक बाध्यता पनि छ”, उनी भन्छन्, “गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै प¥यो, त्यसैले आफ्नै घरका परिवारजनलाई पनि सहयोग गर्न पाएको छैन ।” यसपालि गत बुधबार पितृपक्ष सुरु भएको हो । आजसमेत गरी तीन दिनमा दैनिक करिब चार घरमा श्राद्ध गराएकोे काफ्लेले बताए ।

सामान्यतया एकोदिष्ट श्राद्ध (पितृपक्षबाहेकको बेलाको तिथि, आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न एक÷डेढ घण्टा लाग्नेमा पार्वण श्राद्ध (पितृपक्षको श्राद्ध) गर्नभने कम्तीमा साढे दुई घण्टा लाग्ने पुरोहित बताउँछन् ।
एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ तर पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकुल), मावल (मातृकुल) का तीन पुस्तालाई नै सङ्कल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र गुरु, दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुहरूलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको कर्मकाण्डी उनीहरूको भनाइ छ ।

खै काम पर्दा पुरोहित हतपत भेटिँदैनन्, अब यो परम्परा के होला ?

यसपालि पहिलो दिनबाहेक सबैजसो तिथि दिनैपिच्छे परेका छन् । प्रतिपदा श्राद्धभने पूर्णिमा कटाएर बुधबार गर्नुपर्दा अपराह्न मात्र गर्न मिलेको थियो । अब तिथिपिच्छेका श्राद्ध गरिँदै यही असोज १६ गते पितृ विसर्जन गरिनेछ । असोज कृष्ण प्रतिपदादेखि औँसीसम्म १५ तिथि भए पनि पूर्णिमा तिथिको पार्वण श्राद्ध औँसीका दिन गरिने विधानले श्राद्ध १६ हुनेहुँदा यसपक्षलाई सोह्रश्राद्ध भनिएको भङ्गाहा–५ सीतापुरका कर्मकाण्डी पुरोहित ब्राह्मण विष्णुप्रसाद शर्मा बताउछन् ।

हिन्दू वैैदिक परम्पराअनुसार गरिने पार्वण (महालय) र एकोपार्वण (सोह्रश्राद्धभित्र नै दिवङ्गत भएकाहरूको गरिने) तिथि धेरैजसो यजमानको घरमा एकै दिन पर्ने भएकाले पुरोहितहरूको व्यस्तता बढ्ने गरेको हो । पुरोहितको माग नघटे पनि यसमा लाग्नेहरूको सङ्ख्या घट्दै जाँदा पनि एउटैले धेरै ठाउँ खट्नुपर्ने बाध्यता छ । ब्राह्मण परिवारका नयाँ पुस्ताका सन्तानले यो काममा अनिच्छा देखाउन थालेपछि पुरोहित घट्दै गएका स्वयम् पुरोहितहरू नै बताउँछन् । “हाम्रा बाजे, पिताजी र त्यसअघिका पूर्वज पनि कर्मकाण्डमा पारङ्गत हुनुहुन्थ्यो, हामी दाजुभाइलाई पनि बाजे र पिताजीले कर्मकाण्ड अध्ययनमा उत्प्रेरित गर्नुभयो”, बर्दिबास–१ का भागवत काफ्ले भन्छन्, “तर हाम्रा छोराले यता रुचि देखाएनन्, हामीले पनि कर गरेनौँ ।” सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दक्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेसा अँगाल्ने ब्राह्मण पातलिँदै गएका उनको बुझाइ छ ।

परम्पराअनुसार श्राद्ध र अन्य वैदिक कार्यको आयोजन गर्दै आए पनि अब केही वर्षपछि भने पुरोहित पाइन मुस्किल पर्ने छाँट देखिन लागेको पूर्वीय वैदिक परम्पराका अनुयायीको चिन्ता छ । “खै काम पर्दा पुरोहित हतपत भेटिँदैनन्, अब यो परम्परा के होला ?”, भङ्गाहा–५ सीतापुरका ८७ वर्षीय शालिग्राम ढकाल चिन्ता व्यक्त गरे ।

वैदिक परम्पराका अनुयायी पाकाजन पुरानो रीतिथिति थाम्न नयाँ पुस्ताले चासो देखाउनुपर्ने बताउँछन् । विश्वका अन्य मुलुकमा आ–आफ्ना परम्पराप्रति गर्व गर्नेहरू देखिनु र पूर्वीय वैदिक परम्परामा भने स्खलन आउनु आफ्नै परिचय निभ्नुजस्तै ठान्नुपर्ने महोत्तरीकै जलेश्वर–४ का बासिन्दा ८४ वर्षीय कृष्णचन्द्र झा बताउछन् ।

कर्मकाण्ड र वैदिक परम्पराभित्र रहेका उचनिचको चलन, जातिपाती तथा छुवाछूतको रूढिवादी परम्परा र बिरालो बाँध्नेजस्ता विकृत चलन हटाउनुपर्नेमा भने अब बूढापाका पनि सहमत देखिएका छन् । “विगतमा रहेका गलत प्रथा, परम्परा र मान्यताहरू बदल्दै आफ्ना संस्कार र संस्कृतिको संरक्षण गर्नुको विकल्प छैन । यी त हाम्रा पहिचान पनि हुन् नि ! कुनै भेदभावबिना पूर्वीय वैदिक परम्परा थाम्न र यसको संरक्षणका लागि अब युवा पुस्ता नै अग्रसर हुनुपर्छ”, ज्येष्ठ नागरिक झाको सुझाव छ ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।