चापागाँउ, ललितपुर
२ मंसिर । थुप्रै भारतीय र नेपाली कलाकारहरुको अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ गतशुक्रबारदेखि देशभर प्रर्दशनमा आएको छ । निर्माण पक्षको तीब्र प्रचार सामाग्री र नेपाली चलचित्र हेर्ने माहौलको बीच प्रर्दशनमा आएको चलचित्र ‘ह्रस्व दिर्घ’हल्ला गरेजस्ता रुचिकर छैन ।
दुर्बल पक्ष
चलचित्रमा पात्रहरुको भीड छ । सामान्य भूमिकामा चर्चित कलाकारहरु उभिएर दुईचार संवाद बोलेका छन् । पात्रै पात्रको हुलहुज्जतले कथाले बाटो विराएको छ ।
निर्देशक चन्द्र पन्तले चर्चित भारतीय कलाकार ब्रह्मानन्द, कबीर दुहन सिंह, प्रदीप रावत र सुनिल बर्मालाई जसरी प्रयोग गरेका छन्, त्यो हास्यास्पद छ । कलाकार ब्रह्मानन्द र बलिउड कलाकार प्रदीप रावतजस्ताको अभिनय क्षमतामा प्रश्न उठाउन ठाँउ पक्कै भेटिन्न । तर पन्तको निर्देशकीय पक्षको कमजोरीका कारण उनीहरुले निभाएका चरित्र हलुवामा वालुवा मिसिएको आधास हुन्छ ।
हरिहर अधिकारीले लेखेको चलचित्र ‘ह्रस्व दिर्घ’को कथा(स्क्रिप्ट) कमजोर छ । चलचित्र हेर्दा हेर्दै दर्शक रनभुल्लमा पर्छन । धार्मिक कथामा निर्माण गरिएको चलचित्रमा हिरोको हार अनि गुण्डाको जीत भएको देखाइएको छ ।
चलचित्रको मुुलकथा ठाँउ ठाँउमा बहकिएको छ । कथाको श्रृखाला सलल बगेको छैन ।
अचम्मको कुरा, एउटा सामान्य र एक दुई सिनमा नेपाली चलचित्रका बरिष्ठ कलाकारको अभिनय छ । उनीहरु न त्यो चरित्रमा फिट छन्, न पात्रको अभिनयमा निखार ल्याएको देखिन्छ ।
चलचित्रको संवाद चोटिलो छैन । कतिपय संवाद वाइयात लाग्छ । ‘महामन्थजीलाई थाहा भयो भने घाँटी काटिन्छ’ यस्तो संवाद सुन्दा लाग्छ मानौं महामन्थ भनेको कुनै कसाई हो । जसले घाँटी काटिदिन्छ । चलचित्रमा यस्तै खड्किने संवादको बाहुल्य छ ।
चलचित्रले न दर्शक हँसाउछ न रुवाउछ । दुखान्तका दृश्यहरुमा समेत दर्शकको आँखा भिज्दैन । भारतीय हास्य कलाकार ब्रह्मानन्दले दर्शक हसाउदैनन् । कलाकार प्रदीप रावतले मुख चलाएको र संवाद बोलेको मिलेके छैन । चलचित्रको कथाले घनचक्कर लगाएपछि दर्शक रनभुल्ल पर्छन् ।
चलचित्रको सिक्वेलका लागि अभिनेत्री रेखा थापा ज्योतिष बनेर उपस्थित भएकी छिन् । हरि र नारायणीको भाग्य रेखाराम जानकीसँग ठ्याक्कै मिलेको रोचक प्रसंग सिक्कवेलमा आउने अनुमान गर्न सकिन्छ । तर रेखा थापाको एक मिनेटको भूमिका अस्वभाविक लाग्छ । चलचित्र सकिएपछिको त्यो दृश्यले दर्शक झुक्यिाउछ । चलचित्र हेरिरहँदा ‘ह्रस्व दिर्घ’ शिर्षक जबरजस्ती घुसाइएको महसुस हुन्छ ।
यस चलचित्रका कतिपय दृश्य बस्तुपरक छैनन् । चलचित्र काल्पिनिक कथामा आधारित भएपनि कथा अनुसार छुट्टै सेट प्रयोग गरिएको छैन । भरतपुर नगरपालिका र नवलपुरको शाश्वत धाममा छायाँकन गरिएको दृश्यले चलचित्र हलुगो बनाएको छ ।
चलचित्रमा भारतीय कलाकार ब्रम्हानन्दम्को पुरै हिन्दी संवादमा बोलेका छन् । उनले हँसाउने ठाँउमा हासो उठ्दैन । अर्का भारतीय कलाकार प्रदिप रावतको लिप्सिङ र संवादमा एक रुपता छैन । भिलेन सुनिल बर्माको अभिनय भने डरलाग्दो र क्रुर लाग्छ । कलाकार कबीर दुहन सिंहको अभिनय हेर्दा हाँसो उठ्दैन । बरु उनको संवाद बोल्ने शैली चाँही हाँसोलाग्दो छ । प्रदिप रावत बाहेक अरु कलाकारको भूमिका नगन्य छ ।
हिन्दी र नेपाली कलाकार मिसाएर बनाइएको चलचित्र खचडी बनेको छ । चलचित्रमा भारतीय कलाकारहरुको दमदार भूमिका छैन न त अभिनय क्षमता नै प्रर्दशन गर्न दिइएको छ । चलचित्र हेर्दा बोर लाग्ने ठाँउ मनग्गे छ । मध्यान्तरअघि बोर लाग्छ । मध्यान्तरपछि कतिबेला चलचित्र सकिन्छ भन्ने घटपटी हुन्छ ।
सवल पक्ष
ठूलो क्यानभासमा निर्माण गरिएको यस चलचित्रमा विदेशी कलाकारहरुको अभिनयले सुनमा सुगन्ध थपेको छ । भारतीय छाँयाकार कविरलालको लेन्सबाट खिचिएका दृश्यलाई राम्रा छन् । उच्च प्रविधिको प्रयोगले नेपाली चलचित्रको क्षमता राम्रो बन्दै गएको अनुभव हुन्छ ।
चलचित्रमा विपना थापा, सरोज खनाल,संचिता लुइटेल,गरिमा शर्मा,निता ढुंगाना,भारतीय कलाकार ब्रम्हानन्दम् सुनिल बर्मा, प्रदिप रावतजस्ता कलाकारहरुको अभिनय हेर्न पाइन्छ । धेरै कलाकारलाई एउटै चलचित्र हेर्ने रहर ह्रस्व दिर्घले पुरा गरिदिएको छ ।
प्रविधि
ठूलो क्यानभासमा निर्माण गरिएको चलचित्र ‘ह्रस्व दिर्घ’को प्राविधिक पक्ष भने ज्यादै राम्रो छ । चलचित्रमा भारतीय सिनेमेट्रोग्राफर कविरलालले गज्जवको क्यामेरा सट दिएका छन् । चलचित्रमा प्रकाश संजोजन पनि तारिफयोग्य छ । उनको एङ्गल र पिक्चर क्वालिटी राम्रो छ । पार्शसंगीत पनि उत्तिकै राम्रो छ । चलचित्रमा संगीतको खासै प्रभाव छैन । द्वन्द्वको दृश्य गज्जव छ ।
द्वन्द्वको दृश्यसँगै कविलालको क्यामेरा चालाउने कलाको जति प्रशंसा गरे पनि कम हुन्छ । भिएफएक्सको सुन्दर प्रयोगले चलचित्रलाई राम्रो बनाउन सघाएको छ । चलचित्रमा आवाज डविङमा धेरै ठाँउमा समस्या छ ।
हरिहर अधिकारी
चलचित्रका मुख्य पात्र हरिहर अधिकारीको अभिनय चर्चा भएजस्तो नराम्रो छैन । उनले चरित्र अनुसार ठिकठाक अभिनय गरेका छन् । कतिपय दृश्यमा भने उनले (ओभर एक्टिङ) गरिरहेको अनुभव हुन्छ ।
निता ढुंगाना
गुरुकुलभित्र हुर्केकी महामन्थको छोरी नारायणी(निता ढुंगाना)को अभिनय पनि औसत नै मान्नुपर्छ । चलचित्रभित्र उनले खास कला प्रस्तुत गरेकी छैनन् । उनको अभिनयकला अरु चलचित्रभन्दा भिन्न छैन । महामन्थकी छोरीको भूमिका रहेकी नारायणी पात्र चुलबुले देखाइएको छ । जुन अस्वभाविक देखिन्छ ।
सरोज खनाल
नेपाली चलचित्रका अभिनेता सरोज खनालले माझीको भूमिका निभाएका छन् । उनले निभाएका थारु समुदायको भूमिका हाँसो उठ्दो छ । उनले थारु लवजमा सांवाद ढालेका छैनन् । पहाडी समुदायको बाहुनले बोल्ने थारु भाषा कमजोर छ ।
विपना थापा
लामो समयसम्म नायिकाको भूमिकामा देखिएकी अभिनेत्री विपना थापा १६ बर्षपछि आमाको भूमिकामा चलचित्रमा देखिएकी छिन् । एउटी मेयर र आमाको भूमिकामा विपना रहेकी विपनाको अभिनय औसत छ । उनले ठाँउ ठाँउमा कमजोर अभिनय गरेको भान हुन्छ । छोराको मृत्युको खबर सुन्दा उनको अभिनय देखेर दर्शकको आँखा भिज्नु पर्ने हो । तर उनको कमजोर अभिनयशैली चलचित्र लाई ईटा थपेको छैन ।
गरिमा शर्मा
मोडल दुनियाबाट चलचित्रको ठूलो पर्दामा प्रवेश गरेकी अभिनेत्री गरिमा शर्माको अभिनय पनि उल्येखयोग्य छैन । दुखान्त दृश्यमा उनले चिच्चाएको अनि ठूला नाक देखिदा अस्वभाविक अभिनयको अनुभव हुन्छ । उनले चलचित्रमा भिन्न चरित्रको स्वाद पस्कन सकेकी छैनन् ।
संचिता लुइटेल
नेपाली चलचित्रकी सशक्त अभिनेत्री संचिता लुइटेल एउटा वेवारिसे महिलाको चरित्रमा उत्रेकी छिन् । छोटो भूमिका अनि कमजोर चरित्रमा उत्रेकी अभिनेत्री लुइटेल चलचित्रमा मुख देखाउनकै लागि अभिनय गरेको भान हुन्छ । उनले चरित्र र अभिनयशिल्पमा खासै मेहनत गरेकी छैनन् ।
अन्तमा,
चलचित्र ‘ह्रस्व दिर्घ’ले नेपाली चलचित्र क्षेत्रमा थुप्रै सम्भावनाको ढोका खोलेको छ । नेपाली चलचित्रको बजार देशबाहिर निरन्तर विस्तार भइरहेको सन्दर्भमा विदेशी कलाकारको आर्कषण बढ्न सक्ने सम्भावना उत्तिकै छ । तर विदेशी कलाकारको कलालाई नेपालीकरण गर्नसक्ने चतुर निर्देशकको खाँचो देखिएको छ । चलचित्रको हिरो कथा(स्क्रिप्ट) हो भन्ने कटु सत्यलाई निदैशक पन्तले विर्सेका छन् । कलकारको कला, प्रविधि,संगीत र द्वन्द्वलाई सही बाटोमा डोहो¥याउन चुकेका छन् ।
चलचित्र ‘ह्रस्व दिर्घ’मा प्रविधि,द्वन्द्व,छाँयाकनका दृश्यजस्ता थुप्रै पक्ष सुन्दर छन् । प्रस्तुती, चरित्र चित्रण र कथा ज्यादै कमजोर छ । निर्देशकले पात्रहरुको बलियो चरित्र निर्माण गर्न र कलाकारहरुबाट नयाँ अभिनयकला निकाल्न मेहनत गरेका छैनन । पटकथा र संवादमा यथेष्ट समय दिइएको छैन । कल्पनाशिलतालाई तथ्यपरक ढंगले प्रस्तुत गरिएको छैन ।
चलचित्र निर्माण पक्कै सजिलो काम होइन । सयौं कलाकार र प्राविधिकहरुको लामो मेहनतपछि मात्रै एउटा चलचित्र हलसम्म आइपुग्छ । एउटा निर्मम समिक्षाले कलकारको मन चसक्क होला । तर भुल्लु हुन्न,सत्य तितो हुन्छ ।
प्रतिक्रिया