६ माघ २०८१, आइतबार | Mon Jan 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गोदावरीका बालबालिकाको चित्रकला प्रदर्शनी सुरु



चित्रकला तालिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित हुन योग्य नागरिक तयार हुन सक्छन्, यो देशको समृद्धिका लागि उपयोगी हुनसक्छ, चित्रका माध्यमबाट भावना प्रस्फुटन गर्ने कलासम्बन्धी प्रशिक्षित गर्दै अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्ने कलाकार निर्माण गर्न तालिम तथा प्रदर्शनीहरु महत्वपूर्ण हुन सक्छन्
पाटन (ललितपुर)
 गोदावरी नगरपालिकाका बालबालिकाले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गत पुस २१ देखि २५ गतेसम्म माध्यमिक विद्यालयस्तरीय धुम्रपान मद्यपानलगायत लागुऔषध प्रयोग निवारणसम्बन्धी पाँचदिने चित्रकला तालिम सञ्चालन गरिएको थियो । सो चित्रकला तालिममा बनाइएका चित्रहरुको आजदेखि मङ्गलबजारमा प्रदर्शनी गरिएको हो ।
पाँचदिने चित्रकला तालिममा गोदावरी नगरपालिकाभित्रका १२ वटा सामुदायिक विद्यालयका २१ बालबालिकाले धुम्रपान, मद्यपानलगायत लागुऔषध प्रयोग निवारणसम्बन्धी चेतना जगाउने खालका चित्रहरु कोरेका थिए । विद्यार्थीहरुले तयार पारेका ४० वटा चित्रहरु प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी आगामी सोमबारसम्म रहने जनाइएको छ ।
गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले उक्त प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै कला, संस्कृति र सभ्यतालाई उजागर गर्न चित्रकलाको भूमिका महत्त्वपूर्ण हुने बताएकी छिन् । नगर बाल अधिकार समितिका प्रमुखसमेत रहेकी अधिकारीले चित्रकलाले व्यक्तिमा लुकेर रहेको प्रतिभा, भाव, क्षमता प्रस्फुटन हुने बताइन् ।
“चित्रकला तालिमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित हुन योग्य नागरिक तयार हुन सक्छन्, यो देशको समृद्धिका लागि उपयोगी हुनसक्छ, चित्रका माध्यमबाट भावना प्रस्फुटन गर्ने कलासम्बन्धी प्रशिक्षित गर्दै अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्ने कलाकार निर्माण गर्न तालिम तथा प्रदर्शनीहरु महत्वपूर्ण हुन सक्छन्,” उनले भनिन् ।
तालिमका प्रमुख प्रशिक्षक चित्रकार अजय देसारले तालिमले बालबालिकामा महत्वपूर्ण सीप विकास भएको बताए । कार्यक्रममा गोदावरी नगरपालिकाको महिला बालबालिका शाखाप्रमुख सीता गुरुङले ५१ वटा सूचक पूरा गरेर २०८२ साल चैतसम्म बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी रहेको जानकारी दिएकी छिन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ०१ बजे