पटक पटक चलचित्र प्रर्दशनको मिती घोषणा र स्थगितको श्रृखला अन्त्य गर्दै शुक्रबारबाट देशभर चलचित्र ‘एक्टर : टेक वान’ प्रर्दशनमा आएको छ । चलचित्र देशभरका सबैजसो हलमा प्रर्दशन सुरु भए पनि हलमा दर्शको संख्या न्युन देखिन्छ । तर चलचित्र हेरेका दर्शकको प्रतिकृया भने उत्साहजनक छ ।
कथासार
एउटा युवक छ, कुशल खड्का (प्रदिप खड्का)। रंगमञ्चमा संर्घषरत कुशललाई थियटरको अभिनय केही लाग्दैन । उ भोलिको सुपरस्टार । उसलाई रंगमञ्चको अभिनय वाल लाग्दैन । उ त स्टार हो भबिश्यको ।
रंगमञ्चमै जमेकी प्रकृति(आना शर्मा)सँग प्रेम सम्बन्ध छ कुशलको । एउटै पेशा एउटै बाटो । उनीहरुको जीवनमा चलचित्र अनुबन्धनपछि भूइचालो आउँछ । त्यही भूइचालो चलचित्रको रोचक पक्षलाई चलचित्रमा श्रृखलाबद्ध रुपमा देखाइएको छ ।
सबल पक्ष
टिजर र टेलर हेर्दा सामान्य लाग्ने चलचित्र ‘एक्टर : टेक वान’ एउटा असामान्य र रोचक कथाबस्तु भएको चलचित्रको रुपमा दरिएको छ । नेपाली चलचित्रमा विरलै हेर्न पाइने पात्रहरुको शक्तिशाली चरित्र चित्रण ‘एक्टर टेक वान’मा छ ।
चलचित्रको मेरुदण्ड कथा शक्तिशाली छ । रोचक र उत्सुकता जगाउने कथाका अनेकौं प्लटले चलचित्र हेरिरहँदा रोमाञ्चक बनाउछ । चलचित्रमा प्रेरणा(दिव्या रायमाझी) र प्रकृति(आना शर्मा)सँगको रोचक प्रेमसम्बन्ध मात्रै होइन चलचित्रमा अभिनय गर्ने भूत सवार भएपछि कुशलको जीवनमा आउने उतार चढावले चलचित्र रमाइलो लाग्छ ।
चलचित्रको पहिलो हाफसम्म चलचित्र ठिकठाक चलिरहेको छ । दोश्रो हाफको दृश्यहरुले दर्शकलाई मज्जा दिन्छ । चलचित्रको राम्रो पक्ष बलियो कथाले उत्तिकै कौतिहल पैदा गर्छ । अब के होला ? भन्दै पर्दामा चिहाउदा चिहाउदै चलचित्र सकिन्छ । २ घण्टा १५ मिनेट दर्शकका लागि छोटो भएको भान हुन्छ ।
चलचित्रको कथा दोश्रो भाग बनाउन योग्य कथा छ । चलचित्रका कथा लेखकको खुबी देख्दा लाग्छ चलचित्र ५ देखि ७ भागसम्म पनि लम्ब्याउन सकिन्छ ।
चलचित्रमा प्रकृति र प्रेरणासँग कुशलको रोमान्स चाखलाग्दो छ । दुबै गर्लफ्रेण्डसँगको सम्बन्ध लुकाउन कुशलले गरेको हर्कत पनि हेर्न लायक छ । प्रकृति र प्रेरणाको जीवन कहानीलाई झनै रोचक ढंगबाट देखाइएको छ ।
दुर्बल पक्ष
एउटा घमण्डी पात्रको धाक धक्कु अनि फुर्तीफार्तीबाट सुरु हुने कथामा नयाँ नयाँ घुम्ती आउँछन् । चलचित्रले दर्शकलाई नयाँ नयाँ कुराले बाँध्दै लैजान्छ । चलचित्र हेरिरहँदा यो चाही भएन भन्ने ठाँउ ज्यादै कम भेटिन्छ ।
चलचित्रमा द्वन्द्व भयानक छ । कतिपय ठाँउमा द्वन्द्वले सिमा पार गरेर डरलाग्दो अपराधलाई पर्दामा देखाइरहेको अनुभव हुन्छ । चलचित्र हेरिरहँदा पिडायुक्त डर पैदा गरेको छ । जुन दर्शकलाई सकस हुनसक्छ । चलचित्रको दोश्रो भाग बनाउदा निर्देशकले यो भुल्नु हुँदैन कि ‘द्वन्द्वमा निर्देशकले कला देखाउने हो । हिंसा देखाउने होइन’ । चलचित्र रावायण यही हिंसालाई देखाएको कारण असफल भयो । चलचित्रको गीत जहाँ त्यहा उपयक्त ठाँउ थिएन कि भन्ने लाग्छ ।
प्रदिप खड्का(कुशल)
एउटा फरक परिभेष अनि चरित्रमा अभिनेता प्रदिप कसरी आफूलाई फिट गर्ने क्षमता राख्छन् भन्ने बुझ्न चलचित्र ‘एक्टर : टेक वान’ हेर्न जरुरी छ ।
चलचित्र प्रकाश र पुजार सार्कीमा गाँउले निमुखा पात्रको अभिनय गरेर चर्चा बटुलेको प्रदिप सुकिला मुकिला शहरिया घमण्डी कलाकार बनेर पर्दामा देखिएका छन् । उनले घमण्ड चरित्र र महत्वकाँक्षी सपना पुरा गर्न गरेको संर्घष हेर्न लायक छ । चलचित्र हेरिहँदा कुशलको आत्मविश्वासी स्वभावलाई प्रदिपले उत्तिकै मज्जाले पर्दामा उतारिदिएका छन् । उनी चलचित्रको गीतमा उत्तिकै राम्रो नाचेका पनि छैन ।
प्रदिपले हरेक चलचित्रमा चरित्रलाई शुष्म रुपमा ग्रहण गरेर प्रस्तुत गर्छन् । एक्टरमा उनले सुपरस्टार बन्ने सपना बोकेको एउटा घमण्डी चरित्रलाई जस्ताको तस्तै पस्केका छन् । उनले एउटा ओभर कन्फिडेन्स र घमण्ड पालेको युवकले आफ्नो जीवनमा आएको जटिल परिस्थितीलाई कसरी पार लगाउछ भन्ने देखाइएको छ । प्रदिपले कुशल पात्रमार्फत घाइते अवस्थामा व्याण्डेजभित्र आफूलाई राखेर विना संवाद पनि राम्रो अभिनय देखाएका छन् ।
आना शर्मा(प्रकृती)
आधुनिक युवती पात्रको रुपमा उदाएकी प्रकृती पात्र सामान्य छ । शहरिया थियटर कलाकार प्रकृतीको स्वभाविक अभिनय आनाले देखाउन कोशिस गरेकी छिन् । उनको अभिनयमा जादुमय शैली भने छैन । प्रदिपसंगको केमेष्ट्रि मिलेर पनि हुनसक्छ ठिकठाक अभिनयले पनि चलचित्रको उनको उपस्थिती स्वभाविक लाग्छ । तर आनालाई चलचित्रमा प्रेमिकाको भन्दा फरक ठाँउ दिएको छैन । त्यसैले उनलाई राम्रो अभिनय देखाउने सिमित ठाँउ छ ।
दिव्या रायमाझी(प्रेरणा)
एउटा कलिलो अनि नयाँ अनुहार । चलचित्रको पर्दामा अभिनेत्री दिव्या ठिकठाक देखिएकी छिन् । उनको निर्देश अनि मायाँलाग्दो अनुहार नेपाली चलचित्रमा लामो समयसम्म दर्शक हेर्न लालाहित हुन्छन्, शायद । दिव्याले प्रेरणाको चुलबुले पात्रलाई दुरुस्तै अभिनय गरेर पर्दामा देखाएकी छिन् । नयाँ अनि थोरै आत्मविश्वास भएर हुन सक्छ दिव्याको अभिनय ठाँउ ठाँउमा फिक्का लाग्छ । यद्यपी उनको उज्यालो अनुहार, भेषभुसा र श्रृगारले अभिनयको कमजोरीलाई छोपिदिएको छ ।
दिव्य देव (विवेक)
अग्लो कदका कलाकार दिव्यदेवको उपस्थितीले चलचित्रमा नयाँ रंग भरेको छ । उनको बुलन्द आवाजले चलचित्रमा नयाँ स्वाद पस्केको छ । चलचित्र निर्देशकको हाउभाउ र उनको अभिनयशैलीका कारण फरक दृश्य अनुभव हुन्छ । दिव्यदेव थियटरमा मात्रै होइन चलचित्रको पर्दामा एउटा फरक अनुभव गराउन सक्ने खुबी भएका कलाकार हुन् भन्ने बुझाउन यो चरित्रमार्फत उनी सक्षम छन् ।
राजबल्लभ कोइराला(धिरजंग)
लामो समय नेपाली चलचित्रमा हिरो पात्रको रुपमा राज गरेका कलाकार राजबल्लभ कोइरालाको पुनरागमन दमदार लागे पनि नकारात्मक भूमिकामा उनको अभिनय हेर्दा कहाँ के मिलेको छैन? जस्तो लाग्छ । उनको अभिनय र अनौठो आवाजले चलचित्रमा नयाँ स्वाद दिएको छ । उनको गेटअपले भिलेन भूमिकामा सहयोग गरेको छ । नयाँ भूमिका र पुनरागमनका लागि राजबल्लभ योग्य रहेको चलचित्र हेरिरहँदा अनुभव हुन्छ ।
प्रविधि
चलचित्रका गीतहरु गीत जस्ता छैनन । गीतहरुले सुन्दर कथाहरु भनिरहेका छन् । चलचित्र हेरिरहँदा अल्छी लाग्दैन । चलचित्रमा अल्छी भगाउने थुप्रै कुरा थपिएको छ ।
चलचित्रकमा उत्तम न्यौपानेको (विजिएम) पार्शसंगीतले चलचित्रको नयाँ स्वाद पस्कन सहयोग गरेको छ । चलचित्रमा अष्ट महर्जनले गज्जवको द्वन्द्व निर्देशन त गरेका छन् नै । तर ठाँउ ठाँउमा कलात्मक दृश्यभन्दा पनि हिंसात्मक झलक देखिन्छ ।
राजेन्द्र मोक्तानले चलचित्रको रंग गाढा बनाएका छन् । दिनेश विष्टको भिएफएकले चलचित्रको प्रभाव बढाउन सहयोग नै गरेको छ ।
सिनेमेट्रोग्राफर किरणले गतिलो प्रभाव देखाउन चलचित्र ‘एक्टर : एक वान’मा नयाँ नयाँ एंगल प्रयोग गरेका छन् । उनले चलचित्रको दृश्यमा प्रकाश र रंग संयोजन प्रभावकारी प्रयोग गरेका छन् । चलचित्रको भेषभूषामार्फत बसन्त बुढाले सबै पात्रलाई उत्तिकै सुन्दर बनाएका छन् ।
राजन भुसाल
‘एक्टर : टेक वान’ भुसालको डेव्यु चलचित्र हो । चलचित्रको कथालाई पर्दामा उतार्ने कलात्मक शैली हेर्दा भुसालले डेव्यु निर्देशन गरेको अनुभव हुँदैन । लाग्छ, नेपाली चलचित्र क्षेत्रले एउटा राम्रो निर्देशक पाएको छ ।
भनिन्छ नेपाली चलचित्र क्षेत्रका क्षमतावान कलाकारलाई सही बाटोमा हिडाउने निर्देशकको कमी छ । तर चलचित्र एक्टर टेक वान हेर्दा राजनभुसालजस्ता निर्देशकको कारण चलचित्र क्षेत्र झन् माथि जाने ठाँउ देखिन्छ ।
निर्देशक भुसालले कथाकारले लेखेको सुन्दर कथा र ठिकठाक संवादलाई कलात्मक पाराले पर्दामा देखाइदिएका छन् । एउटा कथालाई सुन्दर ढंगबाट पर्दामा देखाउन कलात्मक क्षमता भएको निर्देशक जरुरी हुन्छ भन्ने कुरा निर्देशक भुसाले चलचित्रकर्मीलाई सटिक ढंगबाट बुझाइदिएका छन् ।
चलचित्रमा कलाकारको भीडभाड हुँदा कथा बेपत्ता हुने खतरा हुन्छ । चलचित्रमा प्रदिप खड्का,दिव्यदेव,आना शर्मा, दिव्या रायमाझी,सुशिलसिटौला,उषा रजक,राजबल्लभ कोइराला र निश्छल बस्नेतको अभिनय रहेको भए पनि सबैले न्यायोचित भूमिका निभाउदा चलचित्रको कथा बेपत्ता छैन ।
अन्तमा,
चलचित्रले समाज बोल्नुपर्छ । समाजका समस्या देखाउनु पर्छ । समाजका सुन्दर र वास्तविक आवाज सुनाउनु पर्छ । अनि मात्रै मानिसको मन र मश्तिष्कमा बस्न सफल हुन्छ । चलचित्रले कलाकारको संर्घष मात्रै देखाउदैन चलचित्र क्षेत्रमा कालो घन प्रयोग गरिएको सन्दर्भमा प्रश्न समेत उठाएको छ । नेपाली चलचित्र क्षेत्रमा सुपरस्टार, मेगास्टारको धङधङी बोकेर हिड्ने कलाकारहरुलाई समेत व्यङ्य गरेको छ ।
चलचित्र हेरेर मनोरञ्जन र शिक्षा लिन चाहनेहरुका लागि एक्टर ः टेक वान उपयुक्त छ । फरक विधामा निर्माण गरिएका यस चलचित्र हेर्ने दर्शकलाई हलमा किनेको टिकटको पैसा असुल गर्ने चलचित्र भन्न सकिन्छ ।
प्रतिक्रिया