काठमाडौं । काठमाडाैंकाे सडकमा गुडिरहेका ५९९ वटा सवारीसाधनको प्रदुषण परीक्षण गर्दा ३४५ वटाले धुँवा उत्सर्जन मापदण्ड पालना नगरेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले केही समययता गर्दै आएको परीक्षणमा ५८ प्रतिशत सवारीसाधन धुँवा उत्सर्जनमा फेल भएका हुन् ।
परीक्षण गरिएका पेट्रोलबाट चल्ने १४८ वटा सवारी साधनमध्ये २३ वटा फेल भएका छन् । डिजेलबाट चल्ने ४५१ मध्ये ३२२ वटा फेल भेटिएका हुन् । यसरी हेर्दा पेट्रोलका सवारी साधनभन्दा डिजेलबाट चल्ने धेरै सवारीसाधन मापदण्ड विपरीत छन् ।
सवारी साधनबाट वायु प्रदुषणमा पार्ने असर घटाउन महानगरपालिकाले सडकमा आकस्मिक चेकजाँच गरिरहेको छ । यस क्रममा फेल भएका सवारी साधनलाई मर्मत गरेर मापदण्डअनुसार सञ्चालन गर्न सुझाव दिइएको छ । प्रदुषण नियन्त्रणका लागि २९ पुसदेखि थालिएको सचेतनात्मक कार्यक्रम नियमित चलिरहेको छ । यस कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा गररे क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको महानगरको तयारी छ ।
अहिलेसम्ममा कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरवारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ । परीक्षणमा फेल हुने सवारी साधनमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रकलगायत छन् ।
प्रतिक्रिया