काठमाडौं । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) सुरक्षागार्ड बर्खास्त गर्दै कर्मचारीहरुलाई निलम्बित गरेको छ ।
केआईआईटी कलेजले एक विज्ञप्ति जारी गरेर दुई सुरक्षाकर्मीलाई बर्खास्त र तीन कर्मचारीहरुलाई निलम्बित गरिएको जानकारी दिएको हो । कलेजले दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको बताएको छ । विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति माफी मागेको छ ।
मानसिक र शारीरिक दुव्र्यवहार भोगेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनामा नेपाली विद्यार्थीले न्यायका लागि प्रदर्शन गरेपछि विश्वविद्यालय प्रशासनले सबै नेपाली विद्यार्थीलाई हिजो निस्कासन गरेको थियो । विश्वविद्यालयको छात्रावासबाट हिजो बिहान कुटपिट र गालीगलौज गर्दै विश्वविद्यालय प्रशासनले जबर्जस्ती लखेटेका नेपाली विद्यार्थीहरु रेल्वे स्टेसनमा अलपत्र परेका थिए भने कतिपय होटलमा बस्न वाध्य भएका थिए ।
कलेजले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि बताएको छ । भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी प्रकृति लम्साल आइतबार साँझ मृत भेटिएकी थिइन् ।
घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए र उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया