ललितपुर । ललितपुर महानगरपालिकाले सम्पत्ति कर र व्यवसाय कर तिर्न बाँकी रहेका नगरवासी तथा व्यवसायीलाई एसएमएसमार्फत ताकेता गरेको छ। महानगरको राजस्व प्रशासन महाशाखाले ७ हजार ५०० जना नगरवासीलाई सम्पत्ति कर तिर्न तथा ९ हजार ४८० जना व्यवसायीलाई व्यवसाय कर बुझाउन एसएमएस पठाएको हो। एसएमएसमा आ.व. ०८०/०८१ सम्मको बाँकी कर तथा चालु आ.व. ०८१/०८२ को नियमित कर वडा कार्यालयमा सम्पर्क गरी बुझाउन सूचित गरिएको छ।
ललितपुर महानगरपालिकाले विभिन्न शीर्षकमा कर संकलन गर्दै आएको छ, जसमा सम्पत्ति कर (घर जग्गा), भूमिकर/मालपोत, घर बहाल कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, व्यवसाय दर्ता दस्तुर लगायत समावेश छन्। आ.व. ०८०/०८१ मा महानगरले १ अर्ब ३७ करोड १८ लाख रुपैयाँ कर उठाउने लक्ष्य राखेको थियो, तर फागुन मसान्तसम्म ८३ करोड ७४ लाख रुपैयाँ मात्र उठेको थियो। चालु आ.व. ०८१/०८२ मा लक्ष्य १ अर्ब २८ करोड ८८ लाख रुपैयाँ राखिएको छ, जसअनुसार फागुन मसान्तसम्म ८१ करोड ५४ लाख रुपैयाँ उठिसकेको छ, जुन कुल लक्ष्यको ६३.२८ प्रतिशत हो।
सम्पत्ति कर संकलनतर्फ, आ.व. ०८०/०८१ मा ३५ करोड २२ लाख रुपैयाँ लक्ष्य राखिएकोमा २६ करोड ६६ लाख रुपैयाँ मात्र उठेको थियो। चालु आ.व. ०८१/०८२ मा ३३ करोड रुपैयाँ लक्ष्य राखिएको छ, जसअनुसार फागुन मसान्तसम्म २२ करोड ७२ लाख रुपैयाँ मात्र उठेको छ, जुन लक्ष्यको ६८.८६ प्रतिशत हो। भूमिकर/मालपोत कर संकलनमा अघिल्लो आ.व.मा ६६ लाख ६० हजार रुपैयाँ लक्ष्य राखिएकोमा ५९ लाख ३ हजार रुपैयाँ मात्र उठेको थियो। चालु आ.व. ०८१/०८२ मा ७० लाख रुपैयाँ लक्ष्य राखिएको छ, जसअनुसार फागुन मसान्तसम्म ४८ लाख ७२ हजार रुपैयाँ मात्र उठेको छ, जुन लक्ष्यको ६९.६१ प्रतिशत हो।
प्रतिक्रिया