८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नगरकोटका होटल पर्यटकले भरिए



नगरकोटलाई स्थायी रुपमा सबै विकास गर्ने खाका बोकेर आयोजना गरेको भ्रमण वर्षले व्यवसायीलाई उत्साह थपेको छ
भक्तपुर
आज २०८१ सालको अन्तिम दिन । भोली सोमबार नपालीहरुको नयाँ वर्ष २०८२ को आगमन । पुरानो वर्षको बिदाई र नयाँ वर्षको स्वागत गर्न यहाँको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटका ६२ वटा होटल आज पर्यटकले भरिएका छन् । नयाँ वर्षको अवसरमा नगरकोट आज बेहुलीझै सिङ्गारिएको छ भने यहाँका होटल र चोकहरुमा झिलिमिलि छ ।
चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्खरापुर नगरपालिकाले संयुक्त रुपमा २०८२ साल वैशाख १ गते अर्थात भोलीदेखि सुरु गर्न लागेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ लाई स्वागत गर्न आन्तरिक तथा बाह्य पर्यटकको आइरो लागेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिएका छन् ।
म आज राती १० बजेसम्म नगरकोटमै छु, यहाँका पर्यटन व्यवसायीले होटलहरुदेखि चोकचोकमा झिलिमिली गरेर नगरकोटलाई बेहुलीझै सिङ्गारेका छन्
“म आज राती १० बजेसम्म नगरकोटमै छु, यहाँका पर्यटन व्यवसायीले होटलहरुदेखि चोकचोकमा झिलिमिली गरेर नगरकोटलाई बेहुलीझै सिङ्गारेका छन् । यहाँका होटल आन्तरिक र बाह्य पर्यटकले खचाखच छन् । यहाँका होटलले नयाँवर्षको पूर्वसन्ध्यामा आज लाइभ कन्सर्टहरुको आयोजना गरेर पर्यटकलाई मनोरञ्जन दिइरहेका छन्” उनले भने ।
नगरकोट आउन सडकको कुनै समस्या नभएको बताउँदै उनले भ्रमण वर्षले यहाँको पर्यटन मार्फत यहाँका सबै क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सफल हुने बताएका छन् ।
पर्यटनको विकासबाटै यहाँको आर्थिक विकाससँगै देशको आर्थिक विकासमा टेवा पु–याउने उद्देश्यले नगरकोट भ्रमण वर्ष आयोजना गरेको चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले जानकारी दिएका छन् । उनले भने, “नगरकोटलाई स्थायी रुपमा सबै विकास गर्ने खाका बोकेर आयोजना गरेको भ्रमण वर्षले व्यवसायीलाई उत्साह थपेको छ ।”
‘नगरकोट भ्रमण वर्ष–२०८२’ का क्रममा ग्रामीण क्षेत्रका होमस्टेमा पर्यटकको चाप बढेको उनले जानकारी दिएका छन् । बिहान नगरकोटबाट देखिने सुन्दर हिमाली दृश्यसँगै सूर्योदयको झुल्को हेर्नेहरुको भीडले नगरकोटमा आज एकैरात २८ हजार पर्यटक बास बसेको चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।
लामाले भने, “नगरकोट भ्रमण वर्षको सुरुवातको पूर्वसन्ध्या र नयाँ वर्षको आगमनलाई कुरिरहेका पर्यटकले नगरकोट आज भरिएको छ । आज बिहानैदेखि होटलका लागि आएका बुकिङ लिएको छैन । कतिपय पर्यटक बस्ने रुम नपाएर फर्किन बाध्य छन् । होटल नपाएर नजिका होमस्टे पर्यटकले भरिएका छन् ।”
नगरकोट आउने पर्यटकलाई १० देखि १५ प्रतिशत छुटको व्यबस्था गरेकाले अरु दिनमा आउन पनि सकिने उनले बताए ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन लामाले २०७२ सालको महाभूकम्प र लामो समयको कोभिड–१९ ले थला परेको पर्यटन व्यवसायलाई पर्यटन भ्रमण वर्षले पर्यटकको आगमन बढाउने देखिएको बताए । आज नगरकोटमा पर्यटकले भरिएको देख्दा व्यवसायी निकै उत्साहित भएको बताउँदै उनले भोली एकैदिन एक लाख पर्यटकको आगमन हुने अनुमान गरिएको बताए ।
होटल व्यवसायी एवं होटल चौतारीका सञ्चालक बद्री माक भन्छन्, “नगरकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्य अवलोकनका लागि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षणको केन्द्र बनेको नगरकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा बाह्य मात्रै नभई आन्तरिक पर्यटक खचाखच भएको छ । कोभिड–१९ पछि यसवर्ष आन्तरिक पर्यटकको घुइँचो लागेको देख्दा पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा व्यवसायीमा देखिन्छ ।”
स्वदेशी पर्यटकको आकर्षण र आगमन बढेपछि ओरालो लागेको पर्यटन व्यवसायमा आशा पलाएको अर्का होटल व्यवसायी एवं होटल पिसफूलका सञ्चालक रामशङ्कर ध्वजु बताउछन् । उनले चारवटै पालिका मिलेर भ्रमण वर्ष मनाउँदा पर्यटन व्यवसायमा थप उत्साह र लगानी थपिएको बताएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।