ललितखबर
शनिबारबाट सुरु भएको उपत्यकाव्यापी मेयरकप फुटवल प्रतियोगिता गोदावरी बहुउद्देश्यीय रंगशाला हिलाम्मे भएपछि सबै खेलहरु स्थगित भएका छन् ।
गएरातिदेखि परेको झरिका कारण रंगशाला हिलाम्मे बनेपछि सबै खेल स्थगित भएको संयोजक निरोज बज्राचार्यले ललितखबरलाई बताएका छन् ।
बज्रचार्यले आजको खेल ललितपुर महानगरको च्यासल मैदानमा आयोजना गर्ने भन्दै नगरपालिकाले पहल गरेको भएपनि सो स्थानमा हक्कीको खेलहरु भइरहेकाले सम्भव नभएको जानकारी दिएका छन् ।
उनले भने, ‘भोलि ११ बजेसम्मका लागि खेल स्थगित भएको छ । निरन्तर झरि परेन भने खेलहरु सुचारु हुन्छ । झरि परे भन्न सकिन्न ।’
गोदावरी नगरपालिकाभित्र राम्रो रंगशाला निर्माण नै नगरि गोदावरी नगरपालिकाले निरन्तर हिलाम्मे र धुलाम्मे रंगशालामा खेलकुद प्रतियोगिता गर्दै आएको छ ।
मेयरकप फुटवल प्रतियोगितामा उपत्यकाका १३ वटा नगरका फुटवल टिमले सहभागिता जनाएका छन् ।
अघिल्लो बर्ष यही रंगशालामा मेयरकप प्रतियोगिता आयोजना गरिएकोमा मैदान धुलाम्मे भएको भन्दै खेलाडीहरुले खेल्न अस्वीकार गरेपछि ललितपुर महानगरको च्यासल मैदानमा केही खेल खेलाएर प्रतियोगिता सम्पन्न गरिएको थियो ।
अघिल्लो प्रतियोगितामा भोग्नु परेको सास्तीबाट पाठ सिकेर खेलकुद मैदान सुधार गरेर मात्रै प्रतियोगिता आयोजना गर्नु पर्नेमा नगरपालिकाले वेवास्ता गरेका कारण यो अवस्था आएको एक जनप्रतिनिधिले बताए ।
केही समयअघि गोदावरी नगरपालिकाले वन क्षेत्रमा संघीय सरकारको स्वीकृती नलिई रंगशाला निर्माण सुरु गरेपछि अख्तियारमा उजुरी परेको थियो । सरकारले केही महिनाअघि नगरपालिकालाई रंगशाला बनाउन जग्गा दिने निर्णयपछि अख्तियारको उजुरी अलपत्र परेको छ । कानून मिचेर वन क्षेत्रमा अवैध रुपमा काम गरेको भन्दै आलोचना भए पनि जनप्रतिनिधिहरुलाई कारवाही हुन सकेको छैन ।
प्रतिक्रिया