५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने



काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ ।

नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा सुरु गर्न लागिएको काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।

आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० कि.मि., कीर्तिपुर, काठमाडौँ र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ कि.मि., मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ कि.मि., कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ कि.मि. र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ कि.मि. गरी कूल ८७५.४ कि.मि. खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ । जसअन्तर्गत वितरण सञ्जालका ८२८.९२ कि.मि पीई पाइप र ४६.४८ कि.मि. डीआई पाइप बिच्छ्याइनेछ ।

यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिनेछ ।

आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सोही अनुसार काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि पीआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।

यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौँ उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौँ उपत्यकाका विभिन्न ९ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणाली (बीडीएस) का ७७ कि.मि. पाइपलाइन बिच्छाउने कार्य समेत सम्पन्न भएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  १ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।