काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन्।
उनले फल्चा केवल ऐतिहासिक संरचना मात्र नभएकाले यसको संरक्षण र पुनर्निर्माणमा महानगर निरन्तर लागि परेको बताएका हु्न् । फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको उनको भनाई छ। ‘मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन्। यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ। त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा (Bus Stop) यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो । अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउँछौ। फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको छ, जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे। चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो।’ फेसबुकमार्फत बालेनले भनेका छन्, ‘प्राचिन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौं गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे। बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो। यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो। ’
प्रतिक्रिया