काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा खरिदबिक्रीको कारोबारलाई पारदर्शी बनाउन निर्देशन जारी गरेको छ। विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा निर्देशन २०८२ जारी गरेको हो।
योसँगै २०८१ जेठ १७ मा जारी भएको निर्देशन खारेज भएको विभागले जनाएको छ। जेठ १३ गते स्वीकृत भएको निर्देशन कार्यान्वयनमा आइसकेको छ। यसअनुसार घरजग्गा कारोबार गर्ने क्रेता र बिक्रेता दुवैले केवाईसी फारम भर्नुपर्ने र लिखतसाथ सिस्टममा अपलोड गर्नुपर्नेछ। केवाईसी फारम भूसेवा केन्द्र लागू भएका कार्यालयमा भूसेवा केन्द्रले र भूसेवा केन्द्र लागू नभएका कार्यालयमा कार्यालयको सर्भिस डेस्कले भर्न लगाई लिखतसाथ सिस्टममा अपलोड गर्नुपर्ने भएको छ।
नयाँ भूसेवा केन्द्र दर्ता गर्न चाहने व्यक्ति वा संस्था र पुराना भूसेवा केन्द्रको नवीकरण गर्न चाहने भूसेवा केन्द्रले त्यस्ता केन्द्र र सञ्चालकको केवाईसी फारम भर्न लगाई कार्यालयले सुरक्षित राख्नुपर्ने उल्लेख गरिएको छ।
निर्देशनअनुसार घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने भएको हो।
तर ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्नेछ।
त्यसैगरी घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबारबराबरको रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) लिखतसाथ संलग्न गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
त्यसैगरी बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिदबिक्रीको कारोबार गर्दा लाग्ने रजिस्ट्रेसन शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकरबापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने भएको छ।
कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरेमा १० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा बैंकिङ वा विद्युतीय कारोबार प्रणालीमार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसँगै पेस गर्नुपर्नेछ।








प्रतिक्रिया