६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा मानसिक स्वास्थ्य परीक्षण निःशुल्क



काठमाडौँ
काठमाडौंमा मानसिक स्वास्थ्य परीक्षण निःशुल्क रुपमा सुरु गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले निशुल्क रुपमा विशेषज्ञससहित मानसिक स्वास्थ्य परीक्षण सुरु गरेको हो । यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क सञ्चालन हुनेछ ।
कामपा स्वास्थ्य विभागले वडा नम्बर ११ बबरमहलको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रबाट तनाव, ‘एङ्जाइटी’, ‘डिप्रेसन’सम्बन्धी मानसिक रोगका साथै रक्सी तथा लागुपदार्थको कुलतमा फसेकालाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
कामपा–११ का वडाध्यक्ष हीरालाल तण्डुकारले लुकाउने गरिएको मानसिक समस्याका बारेमा खुलेर उपचार गर्ने वातावरण बनाएर सम्भावित जोखिम घटाउन कामपाले परीक्षण सुरु गरेको जानकारी दिएका छन्।
पाटन अस्पतालका मनोचिकित्सक डा अनिमा पराजुलीले आवेग, निराशा, उत्तेजना, डर, चिन्ता, दिक्दारी, छटपटी, मनमा धेरै कुरा खेल्ने, भोक तथा निद्रा नलाग्ने, दिशा, पिसाब गरिरहनेलगायत अस्वाभाविक परिवर्तन हुनु मानसिक समस्याका लक्षण रहेका बताएका छन् ।
मानसिक समस्यालाई समयमा पहिचान गरेर नियन्त्रण बाहिर पुग्नुअघि समाधानका उपाय खोज्न सकिने उनको भनाइ छ । “सामान्यभन्दा बढी नकारात्मक वा पीडादायक सोचाइ आउनु, दुखित हुनु, चिन्तित हुनु, डराउनु, निराश हुनु, असहज शारीरिक लक्षण देखिनु, अस्वाभाविक र असामान्य व्यवहार देखिनु, दैनिक काममा असहज हुनुलगायत व्यवहारमा परिवर्तन देखिएमा मानसिक समस्या हुनसक्छ”, डा पराजुलीले भने ।
यस्ता समस्या सकेसम्म अरुलाई नसुनाउने भएकाले रोग बढ्दै जाने भन्दै पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले ठूला अस्पतालमा मानसिक समस्याका बिरामीको सङ्ख्या बढ्दै गइरहेको बताएका छन् । वडास्तरमा हुने विशेषज्ञ परीक्षणले अस्पतालमा बिरामीको चाप घट्ने र सेवाको गुणस्तर बढ्ने उनको भनाइ छ ।
विश्वास लाग्ने व्यक्तिसँग मात्र कुराकानी गर्ने, परामर्शदातासँग कुरा गर्ने, व्यायाम गर्ने, प्रशस्त पानी पिउने, गीत गाउने वा सुन्ने, गहिरो सास फेर्नेलगायत अभ्यास गर्नुपर्ने भण्डारीले उल्लेख गरेका छन् ।
“सन्तुलित खानपान गर्नुपर्छ । दैनिक करिब १ घण्टा व्यायाम गर्नुपर्छ । मोबाइल, ल्यापटप जस्ता विद्युतीय उपकरणको प्रयोग घटाउनुपर्छ । करिब ८ घण्टा सुत्नुपर्छ । हानीकारक पदार्थको प्रयोग गर्नुहुँदैन । कुनै समस्या आएमा मनोविद् र मनोचिकित्सकको सुझाव लिनुपर्छ । आफूले आफैँलाई नियन्त्रणमा राख्ने अभ्यास पहिलो उपचार हो”, उनले भने ।
मानसिक स्वास्थ्यको लक्षण, असर र समाधानका उपायसम्बन्धी सन्देश प्रवाह गरेर मानसिक समस्यालाई घटाउन, परीक्षण र परामर्शबाट व्यक्तिको अवस्था पत्ता लगाएर उपचार गराउने उद्देश्यले कामपाले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शुक्रबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।