ललितपुर। ललितपुरको ग्वार्कोस्थित फ्लाइओभर पुल निर्माण सम्पन्न भएर दुई साता बितिसक्दा पनि पूर्वबाट आउने यात्रुबाहक बसहरूलाई कोटेश्वर, सातदोबाटो, ग्वार्को हुँदै चावहिलतर्फको रुटमा सञ्चालनको अनुमति नदिइएको गुनासो बढेको छ।
यातायात व्यवस्था विभागले पूर्वबाट काठमाडौं आउने बसहरूको कोटेश्वर–सातदोबाटो–ग्वार्को रुट पर्मिट अझै नखोलेपछि ती बसहरूलाई कलंकीबाट सिधै नयाँ बसपार्क जान बाध्य बनाइएको छ। यसले भक्तपुर, कोटेश्वर, ग्वार्को, पेप्सीकोला र सातदोबाटो क्षेत्रका हजारौं यात्रुहरूलाई दैनिक कठिनाइ भएको छ।
विभागका निर्देशक श्रीकान्त यादवका अनुसार, पुल निर्माणकै क्रममा उक्त रुटमा सवारी जाम बढ्ने भन्दै तीन वर्षअघि नै पर्मिट स्थगित गरिएको थियो। तर, अहिले पुल सञ्चालनमा आएपछि पनि पुरानो व्यवस्था कायम राखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले लाखौं यात्रु मर्कामा परेको भन्दै असार १३ गते विभागलाई रुट पर्मिट पुनः जारी गर्न पत्र पठाइसकेको जानकारी दिए। उनले भने, “यदि बसहरू सातदोबाटो–ग्वार्को हुँदै नयाँ बसपार्क जान पाउँथे भने यात्रुहरूलाई राहत मिल्थ्यो।”
हालको अवस्थाले यात्रुहरूलाई बसपार्कमा ओर्लिएर फेरि गन्तव्यतर्फ छुट्टै सवारी खोज्नुपर्ने बाध्यता बनाएको भन्दै रुट पर्मिट तत्काल पुनः जारी गर्न महासंघको माग छ।
प्रतिक्रिया