भक्तपुर
ऐतिहासिक चाँगुनारायण मन्दिर परिसरमा २१२औँ भानु जयन्तीको अवसरमा ‘चाँगुनारायणमा कला, कलामा साहित्य महोत्सव’ आज आयोजना गरिएको छ ।
चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको महोत्सवमा कवि डा सुलोचना मानन्धरले नगरकोटमा रहेको रानीझुलाका बारेमा लेखेको कविता वाचन गरेका थिए । कार्यक्रममा कविहरू श्रवण मुकारुङ, स्नेह सायमी, नारायण श्रेष्ठ, गीता त्रिपाठी, मणि लोहनी, अभय श्रेष्ठ, सन्ध्या पहाडी, राधिका कल्पित, हरिहर तिमिल्सिना, विमला तुम्खेवा र पुरु लम्सालले कविता वाचन गरे ।
महोत्सवमा विना थिङ, डा सरोज धिताल, लक्ष्मी माली, लक्ष्मी रुम्वा, लक्ष्मी थापा, प्रगति राई, अनन्त वाग्ले, धर्मेन्द्रविक्रम नेम्वाङ, दीपक सापकोटा, गुरुङ सुशान्त, अमनप्रताप अधिकारी, सीता तुम्खेवा, स्वप्तिन स्मृति, जुनु घिमिरे, दधिराम गेलाल, नरेन्द्रकुमार गेलाल, अप्सरा लावती, विप्लव प्रतीक, रामशरण न्यौपाने, रामगोपाल आसुतोष, कविराज घिमिरे र जनार्दन रिजालले सम्पदामाथि लेखिएका कविता वाचन गरे ।
चाँगुनारायण मन्दिर परिसरमै बसेर कविहरुले कलाकारहरुको विभिन्न सम्पदाका चित्र अवलोकन गर्दै कविता कोरेका थिए । चित्रकारहरू मुकेश श्रेष्ठले मनोहरा फाँट, जुजुभाइ वाँस श्रेष्ठले सरस्वती मन्दिर, दीपेन्द्रमान बनेपालीले तामाङ सेलो नृत्य, चाँगुनारायणवासी सरोज लामिछानेले रानीझुला (लामो झोलुङ्गे पुलण्लाई क्यान्भासमा उतारेका थिए ।
स्थानीय कलाकार अञ्जन अधिकारीले बाँस्तोला गाउँको होमस्टे, पर्वत श्रेष्ठले महामञ्जुश्री मन्दिर, अंशुराम खाइजुले नगरकोट भ्यू प्वाइन्ट, मङ्गलकृष्ण प्रजापतिले माउन्टेन रेञ्ज, राजन श्रेष्ठले ज्योतिर्लिङ्गेश्वर महादेव, रामशरण प्रजापतिले चाँगुनारायण मन्दिर, गौरीमाया कोजुले वाल्मीकेश्वर महादेव, दीपेशमान सिंप्रधानले वोझिनी ड्यामलाई चित्रमा आकर्षक रूपमा उतारेका थिए ।
यस्तै, कलाकार झलक केसीले चाँगुनाराण मन्दिर, चन्द्रा श्रेष्ठले तामाङ जनजीवन, राधेश्याम कर्माचार्यले त्रिपुरासुन्दरी, किशोर नकर्मी गौतमले बुद्धलगायत विभिन्न चित्र क्यानभासमा उतार्नुभयो । आज दिनभर चाँगुनारायण प्राङ्गणमा प्रदर्शनीमा राखिएका चित्र हेरेर कविहरूले पहिलो चरणमा कविता रचना गरेका थिए भने त्यही कविता दोस्रो चरणमा वाचन गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले कविता वाचन गर्ने कवि एवं चित्र कोर्ने कलाकारलाई कदरपत्रसहित सम्मान गर्नुभयो । उहाँले मठमन्दिर बनाएर मात्रै हँुदैन भन्दै कला, संस्कृति र भाषालाई जोगाएर विश्वमाझ पस्कन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
चाँगुनारायण नगरप्रमुख जीवन खत्रीले नगरपालिका कला, साहित्य, सम्पदा र ऐतिहासिक धरोहरको संरक्षण गर्न सधैँ तत्पर रहेको भन्दै त्यसका लागि नगरपालिका साहित्यिक प्रतिष्ठान स्थापना गरिने बताए ।
कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, शङ्करापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, चाँगनारायण नगरपालिका–४ का वडाध्यक्ष रोजबहादुर तामाङ, समीक्षक गुरुङ सुशान्त र कुमारी लामाले कला र साहित्यको फ्युजनका रुपमा आयोजना गरिएको महोत्सव उत्कृष्ट रहेको चर्चा गर्दै यसलाई अरू पालिकाले पनि अनुशरण गर्नुपर्ने बताए ।
प्रतिक्रिया