वेस्टइन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपालले बहुप्रतिक्षित युनिटी टी–२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ।
नेपालले पहिलो पटक कुनै टेस्ट मान्यता प्राप्त टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा हराएको हो। दुई पटकको विश्वकप विजेता वेस्टइन्डिजलाई हराउँदै नेपालले उल्लेखनीय उपलब्धि हात पारेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनायो। लक्ष्य पछ्याउन मैदानमा उत्रिएको वेस्टइन्डिज २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै समेटियो।
नेपालका लागि कप्तान रोहित पौडेलले ३८ रन बनाए। कुशल मल्लले ३०, गुल्सन झाले २२ तथा दिपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए। वेस्टइन्डिजका बलर जेसन होल्डरले ४ विकेट लिँदा, नविन बिडाइसेले ३ तथा अकिल होसेनले १ विकेट लिए।
जवाफमा वेस्टइन्डिजका लागि नविन बिडाइसेले २२, अमिर जाँगोले १९, अकिम अगस्टेले १५, फाबिन एलनले १९ तथा कप्तान अकिल होसेनले १८ रन बनाए।
नेपालका बलर कुशल भुर्तेलले २ विकेट लिए भने रोहित पौडेल, ललित राजवंशी, नन्दन यादव, करण केसी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे।
युनिटी टी–२० सिरिजअन्तर्गत नेपालले बाँकी दुई खेल असोज १३ र १४ गते वेस्टइन्डिजविरुद्ध खेल्नेछ।








प्रतिक्रिया