काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विजयी सुरूआत गरेको छ। बलरको उत्कृष्ट प्रदर्शनका कारण १४७ रनको लक्ष्य पछ्याएको काठमाडौं गोर्खाज ११८ रनमै समेटिएपछि सुदूरपश्चिमले २९ रनको जीत दर्ता गर्यो।
सुदूरपश्चिमले सुरुआतमा तीन विकेट छिट्टै गुमाएर कठिन अवस्थामा खेले पनि दीपेन्द्र सिंह ऐरी र हरमित सिंहको २५ बलमा ६१ रनको महत्वपूर्ण साझेदारीले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्यायो। रोयल्सले २० ओभर पूरा गर्नु अघि नै सबै विकेट गुमाए पनि १४७ रन बनाउन सफल भयो।
पहिलो ओभरमै गोर्खाजका करण केसीले जोस ब्राउन र विनोदलाई आउट गर्दै सुदूरको ब्याटिङ लाइनअप हल्लाइदिएका थिए। क्रिस लिन पनि १० बलमा २ रनमै पभेलियन फर्किए। त्यसपछि इशान पाण्डे (११) र आरिफ शेख (२५) ले केही सम्हाल्ने प्रयास गरे। अन्त्यतिर हरमित सिंहले २० बलमा ८ चौकासहित ५३ रनको दमदार पारी खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पुर्याए। करणले काठमाडौंका लागि चार विकेट झारे भने मिलिन्द कुमार, सन्नी पटेल र राशिद खानले दुई–दुई विकेट लिए।
जवाफी बल्लेबाजीमा काठमाडौं गोर्खाजको पारी पनि राम्रो हुन सकेन। ओपनर बेन चार्ल्सवर्थ ८ रनमै आउट भए। भीम सार्कीले लामो पारी खेल्ने संकेत गरे पनि टिक्न सकेनन्। सन्तोष यादव रनआउट भएपछि काठमाडौं दबाबमा परेको थियो।
आकाश त्रिपाठी र जोन सिम्पसनले ४९ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर २४ रन बनाएका जोनलाई इशान पाण्डेले आउट गरेपछि खेलकै मोड फेरियो। ३४ रन बनाएका आकाश पनि आउट भएसँगै काठमाडौंको प्रतिरोध टुट्यो। पछि आएका मिन्दि कुमार (११), राशिद खान (६), सन्नी पटेल (१०), आदिल आलम (०) र करण केसी (१) पनि टिक्न सकेनन्।
सुदूरपश्चिमका स्कट कुगेलाइन, हेम्त र हरमितले समान २-२ विकेट लिए भने इशान, नरेन साउँद र अभिनासले एक–एक विकेट हात पारे।
एनपीएलमा भोलि साँझ ४ बजे चितवन राइनोजले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।








प्रतिक्रिया