१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Banner News


पोखरा विमानस्थल प्रकरणः तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी विनेश मुनाकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा यसअघि ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको अख्तियारले मंगलबार थप एक जनाविरुद्ध साढे २ करोड रुपैयाँभन्दा बढी विगो मागदाबी गर्दै मुद्दा दर्ता गराएको हो। अख्तियारले विशेष अदालतमा दर्ता गराएको मुद्दामा मुनाकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५१७ रुपैयाँ विगो माग गरिएको छ।

अख्तियारका अनुसार उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख पदमा कार्यरत रहँदा मुनाकर्मीले पदीय मर्यादा विपरीत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका छन्। सोही अभियोगमा भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार मुनाकर्मीले २०५४ फागुन १ गते सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०८० मंसिर १४ गतेसम्ममा वैध स्रोतबाट कुल ३ करोड ७३ लाख ८१ हजार ४४४ रुपैयाँ आम्दानी गरेका छन्। तर सोही अवधिमा उनको कुल खर्च ६ करोड २४ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको देखिएको छ।

आम्दानीभन्दा २ करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको र सो रकमको स्रोत पुष्टि हुन नसकेको भन्दै अख्तियारले अधिकारको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ। मुनाकर्मीले बुझाएको सम्पत्ति विवरणसमेत तथ्यसँग मेल नखाने अख्तियारको ठहर छ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।