ललितपुर । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुरका तीनवटै क्षेत्रले असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा ललितपुर जिल्लाबाट एकजनालाई पनि समावेश नगरिएको भन्दै कांग्रेस ललितपुरका तीनवटै क्षेत्रका सभापतिहरूले बिहीबार पार्टी कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
उनीहरूले सूची संशोधन गर्ने म्यादभित्र ललितपुरबाट कम्तीमा प्रत्येक क्षेत्रबाट एकजनाको दरले तीनजनाको नाम समावेश गर्न माग गरेका छन्। मागको सुनुवाइ नभए ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा समानुपातिक मत घट्न गएमा त्यसको जिम्मेवारी आफूहरूले नलिने चेतावनी पनि दिएका छन्।
असन्तुष्ट समूहको ध्यानाकर्षण पत्र बुझ्दै कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले उक्त विषय पार्टी नेतृत्वसमक्ष राखिने बताएका छन्। पार्टीको महाधिवेशन तयारीका क्रममा हतारमा समानुपातिक सूची तयार गर्दा केही कमजोरी हुन सक्ने उल्लेख गर्दै उनले यसले आगामी निर्वाचनमा पार्टीको भूमिकालाई कमजोर बनाउने काम नगर्न आग्रह गरे।
कांग्रेस ललितपुरका तीनवटै क्षेत्रका सभापतिहरूले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा आफूहरूले उठाएका विषयमा कांग्रेस जिल्ला कार्यसमितिको समेत समर्थन रहेको उल्लेख गरिएको छ।








प्रतिक्रिया