२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


माइतीघरदेखि बानेश्वरसम्म ३० दिनसम्म प्रदर्शन गर्न रोक



४ मंसिर । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासनले ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

सोमबार बेलुकादेखि लागू हुने गरी ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै प्रदर्शन र जुलुस गर्न रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।

उनका अनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेलाई भई जुलुस, प्रदर्शन, धर्ना घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो।

पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ। त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो।

एमालेको भातृ संगठन युवा संघ र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।