१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टुँडिखेलको सीप मेला हेरेपछि लोभिदै मेयर हमालको भने, ‘धनगढीमा पनि यस्तै गरौं’



धनगढी
२६ वैशाख । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन्। बधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन्। सीप मेलाको अवलोकनपछि उनले युवाहरूलाई स्वरोजगार बनाउन निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालको सीप मेलाको आयोजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।

’युवाहरूसँग डिग्रीको प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेको खाँचो हो। यस्तो खालको सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयोजना गर्न हामी तयार छौँ,’ मेयर हमालले भने, ’तपाईंहरू आउनुहोस्। हामी सहकार्य गर्न तयार छौँ।’

उनले बजारको मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ’हिजो तालिमका नाममा तालिमको ठेक्का पाउनेहरू मात्रै रोजगार भए,’ हमालले भने, ’अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै रोजगार हुनेगरी काम हुनुपर्छ।’

काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहकार्यमा टुँडिखेलमा आयोजना भइरहेको सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।

उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाको आवेदन परेको बताउँदै आगामी दिनमा सबैलाई तालिमको अवसर दिएर रोजगारीसँग जोड्ने लक्ष्य लिइएको बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले बताए।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।