१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान



काठमाडौँ
१५ जेठ । सरकारले काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ चोकमा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालको लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१ ÷ ८२ को बजेटमा सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा क्र्यास व्यारियरको निर्माण गरिने उल्लेख छ ।

अर्थमन्त्री पुनले भने, “सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइनेछ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड र कमला–कञ्चनपुर सडकखण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ । काँकड़भिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिङ्गे र भालुबाङ्ग–लमही सडक खण्ड स्तरोन्नति कार्य शुरू गरिनेछ । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि रु २९ अर्ब ८८ करोड विनियोजन गरेको छु ।”

काठमाडौं–तराई मधेश द्रूतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ मार्ग निर्माण आगामी आर्थिक वर्ष सम्पन्न गरिने छ । ५७ पुलको निर्माण कार्यलाई तीव्रता दिइने छ । काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाका लागि रु २२ अर्ब ५४ करोड विनियोजन गरिएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडक खण्ड समेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गरिने छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि रु तीन अर्ब ६८ करोड विनियोजन गरिएको छ । हुलाकी राजमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न रु तीन अर्ब ३० करोड विनियोजन गरिएको छ ।

सरकारले यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइने जनएको छ । त्यस्तै दिगो तथा वातावरण मैत्री यातायात प्रणालीको विकास गरिने भएको छ । सडक दूर्घटनाबाट घाइते व्यक्तिको उपचारका लागि प्रदान गरिने रकम र सडक दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  २ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।