२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पलेशालाई महानगरपालिकाबाट ५ लाख रुपैयाँ नगदसहित सम्मान



१९ भदौ । काठमाडौं महानगरपालिकाले पेरिस पारालिम्पिक २०२४ मा कास्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई ५ लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ । काठमाडौं प्लाजामा आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सम्मान पत्र र उपप्रमुख सुनिता डंगोलले चेक हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो । यस्तै पलेसाकी माता पनिता गोवर्धन र पिता प्रदिप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा धारणा राख्दै प्रमुख शाहले भने, ‘नेपालले गर्न सक्छ, भन्ने देखाउन कठिन भइरहेको वर्तमान अवस्थामा ऐतिहासिक पदक दिलाउनुले, नेपालले गर्न सक्छ भन्ने सन्देश दिएको छ । सीमित स्रोतबाट यो पदक हासिल हुनुले खेल क्षेत्रमा जे छ, त्यसैमा पनि गर्न सकिन्छ भन्ने उदाहरण र हौसला दिएको छ ।’

पलेशाका मातापिताको योगदानमा कुरा गर्दै उहाँले, खेलमा लाग्नेले पढ्दैनन् भन्ने अभिभावकको सोच परिवर्तन हुनु पर्छ भन्ने सन्देश दिएको उल्लेख गरे ।

त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, पलेशाले आगामी खेलमा भाग लिएको हेर्ने अवसरको अपेक्षा गरिन् । छोरीको सफलताका लागि अभिभावकको अहम् भूमिका हुने बताउँदै उनले, पलेशाका बुबाआमा, सन्तानको सफलताका लागि अभिभावकको भूमिकाका लागि उदाहरण भएको उल्लेख गरिन् ।
त्यस क्रममा पलेशाले खेल अनुभव सुनाउँदै भन्नुभयो, मैले प्राप्त गरेको पदक देशकै लागि गौरव हो । यस अघि जापानमा भएको खेलमा दिन नसकेको पदक यसपटक दिलाउन सकेँ ।

सम्मान कार्यक्रममा प्रवक्ता नविन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार के. सी., तेक्वान्दो एशोसिएसनका अध्यक्ष प्रकाश शम्शेर राणा, ओलम्पियन संगीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदिप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी हुनुभएको थियो ।

पलेशाले गएको शुक्रबार पेरिसको ग्राण्ड प्यालेसमा के–४४ क्याटागोरीको महिला ५७ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् ।
पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले पराजित गरेकी हुन् ।

रिपेचेजअघि पहिलो चरणमा पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सलाई एक पक्षीय खेलमा ३१–० ले पराजित गर्दै क्वाटरफाइनल खेल सुरक्षित गरेकी थिइन् । पेरिस पारालिम्पिकमा नेपालबाट ३ जना खेलाडीको सहभागिता थियो । कार्यक्रममा सहभागी खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  ११ : ३८ बजे