५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चन्द्रागिरिका ८ वडा बालश्रममुक्त घोषणा



५ असोज । चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ ।

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेका छन् ।

यसक्रममा शनिबार चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् ।

नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ ।

बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शनिबार यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि –१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गरे ।

त्यस क्रममा उनले बालश्रम निवारणलाई नगरपालिकाले उच्च प्राथमिकता राखेको बताउँदै घोषणापछिको दिगोपनमा काम गर्नुपर्ने बताए ।

बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् । बालश्रम मुक्त घोषणाअघि बाजागाजासहित र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ४ : २४ बजे