२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वैदेशिक रोजगारमा विदेश पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ



१६ असोज । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, दुबईलगायत देशमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका-९ गच्छे टोल घर भई काठमाडौँको टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदनराज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौँ टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाईं र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया विन्दु केसी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “पक्राउमध्ये सुदनले एकजना पीडितबाट रु पाँच लाख, अन्जनाले एकजना पीडितबाट रु दुई लाख ९० हजार र विन्दुले एकजना पीडितबाट रु एक लाख पाँच हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” सुदनलाई पुतली सडकबाट, अन्जनालाई नयाँ बसपार्कबाट र विन्दुलाई ललितपुरको गोदावरीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ५ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।