२४ असोज । दशैं मनाउन काठमाडौं उपत्यकाबाट पाँच लाखभन्दा धेरै यात्रु बाहिरिएका छन् । यो तथ्यांक १७ असोजदेखि २३ असोज (बुधबार) साँझ ६ बजेसम्मको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकाबाट सबैभन्दा धेरै यात्रु नागढुंगा नाकाबाट बाहिरिएका छन् । सो नाकाबाट मात्रै हालसम्म तीन लाख ५० हजार यात्रु बाहिरिएका छन् । बाँकी एक लाख ५६ हजार २२५ यात्रु भने उपत्यकाका अन्य नाकाबाट बाहिरिएका छन् ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार साँझसम्म उपत्यकाबाट दशैं मनाउने उद्देश्यले पाँच लाख ६ हजार २२५ यात्रु बाहिरिएका छन् ।
दशैंलक्षित यात्रुको सुविधाका लागि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न ठाउँमा १४ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । टिकटको कालोबजारी गर्ने, तोकिएभन्दा धेरै भाडा असुल्ने, क्षमताभन्दा धेरै यात्रु राख्ने, मापदण्डविपरीतका सवारीसाधन चलाउने, लापसे (लागुपदार्थ सेवन) र मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएको हो । यसक्रममा प्रहरीले ३१ भन्दा धेरैलाई कारबाही गरिसकेको छ ।








प्रतिक्रिया