३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमफेदी तारेभिरमा फसेका काठमाडौंका चार जनाको उद्धार



१७ पुस । मकवानपुर भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनाको उद्धार भएको छ । काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाललाई सेना र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।

उनीहरु फसेको प्रहरीले मंगलबार दिउँसो करिब सवा तीन बजे टेलिफोनमार्फत् खबर पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहाल नेतृत्वको चार जनाको टोली उक्त स्थानमा खटिएको थियो ।

इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब १५ किलोमिटर पश्चिम उत्तरतर्फ पर्ने उक्त स्थानमा प्रहरी टोली डोरी, हसिया, फलामको रड लगायतका उद्धार सामग्रीसहित गएको थियो ।

प्रहरीले मात्र उद्धार गर्न नसकेपछि नेपाली सेनाको बेसक्याप्प महादेवटारका सुबेदार सिताराम कार्की नेतृत्वमा ७ जनाको थप टोली उद्धारमा परिचालित भएको थियो । सेना र प्रहरीको संयुक्त टोलीले चारै जनालाई मंगलबार साँझ ५ बजेतिर सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको इलाका प्रहरी प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  १२ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।